Logo

कांग्रेस संसदीय दलको नेता परिवर्तनको आवश्यकता र सम्भावना दुवै छैन : प्रमुख सचेतक



काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले मिटरब्याज (चक्रवर्ती ब्याज) सम्बन्धी विधेयक पारित गर्न आफ्नो दल तयार रहेको बताएका छन् । प्रतिपक्षी दलहरुसँगको सहमतिमा आवश्यक कुरामा परिमार्जन गरेर जानसमेत तयार हुनुपर्ने उनले औंल्याए ।

‘यस विधेयकको मूलभाव घरसारमा भएका अनुचित, गलत र शोषणयुक्त लिखतमा पीडितलाई संरक्षण गर्नु नै हो । ब्याजलाई साँवामा जोड्ने, हुँदै नभएको व्यवहारको कागज गर्ने र कम पैसा दिएर कागजमा बढी पैसा लेख्ने गर्दा तराई मधेस प्रदेशमा पीडित धेरै छन् । यसमा एमाले, स्वतन्त्र पार्टी, राप्रपा लगायत विपक्षी बेन्चमा बसेका दलहरुलाई समेत सहमतिमा ल्याएर पूर्ण बैठकबाट यसलाई पारित गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

मिटरब्याज सम्बन्धी नयाँ विधेयक ल्याउनुपर्छ भन्ने आफूलाई नलागेको पनि लेखकले बताए । उनले भने, ‘यसलाई कुनै पनि नाममा फिर्ता वा ढिला गर्नु राम्रो होइन । पीडितहरु मधेस प्रदेशबाट हिँडेर पटकपटक काठमाडौं आएको हामीले बिर्सनुहुँदैन । ससाना प्राविधिक, कानुनी र प्रक्रियागत कुरामा अलमलिएर पीडितलाई थप पीडा दिनुहुँदैन ।’

प्रमुख सचेतक लेखकले जनताको विषयमा संसद्मा निरन्तर छलफल भइरहेको पनि बताए । उनले थपे, ‘भर्खरै बजेटका बारेमा ६०/७० दिन छलफल भएको छ । बजेटकै पूर्व छलफल, बजेटका प्राथमिकता र सिद्धान्त, नीति र कार्यक्रममा पनि छलफल भएको छ । बर्खे अधिवेशनको मूल कामै बजेट हो । सदनले कामै गरेको छैन, प्रभावकारी हुन सकेन भन्ने यथार्थ होइन । अहिले पनि संसद्मा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, सम्पत्ति शुद्धीकरण विधेयक, अख्यितार दुरुपयोग आयोगको संशोधित विधेयक, केही नेपाल ऐन संशोधन गर्ने विधेयक, संस्कृत विश्वविद्यालय विधेयक विचाराधीन छन् । माननीयजीहरुले आफ्नो रुचिको विषयमा छलफल गरिरहनुभएकै छ ।’

नेता लेखकले नेपाली कांग्रेसको संसदीय दलका नेता परिवर्तनको तत्काल आवश्यकता र सम्भावना नदेखेको पनि बताए । उनले भने, ‘पार्टी सञ्चालनका प्रक्रिया र कार्यविधिमा प्रश्न उठेका छन् । कतिपय आलोचनाका विषय पनि छन् । तर हामीबीच सैद्धान्तिक र नीतिगत मतभेद छैन । माननीय गगनकुमार थापाजीले जनमत बनाउनका लागि गर्नुभएका कुरामा टिप्पणी गर्नु बान्छनीय हुन्न । लोकतन्त्रमा प्रत्येक भनाइलाई सम्मान गर्नुपर्छ । तर मैले संसदीय दलको नेता तत्काल परिवर्तन गर्ने आवश्यकता र सम्भावना दुइटै देखेको छैन ।’ पार्टीको साउन २ बाट बस्ने केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा, सरकारका कामकारबाही, गठबन्धनको स्पिरिट, संगठन निर्माण, जनताका सरोकार आदि समसामयिक एजेन्डामा छलफल हुने पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot