Logo

ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको संलग्नता पुष्टि भए कारबाही हुन्छः राजन दाहाल



काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाही गर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको प्रतिवद्धतासहित गठबन्धन र सरकार बनेको भन्दै सोही प्रतिवद्धता बमोजिम काम हुने बताएका हुन् । गठबन्धन दलबीच भएको प्रतिवद्धताको जगमा उभिएर सबै प्रकारका भ्रष्टाचारको फाइल खोल्ने उनले बताए ।

भ्रष्टाचारको फाईल खोल्दा गठबन्धन दलमा रहेका माधव नेपाल, बाबुराम भट्टराई परेपनि कारबाही हुने उनले बताए । नेपाल र भट्टराईको नाम ललिता निवास प्रकरणमा जोडिएको छ । विभिन्न समयमा ललिता निवासको जग्गाको निर्णय हुँदा माधव नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

‘हामीले सरकार निर्माण गर्दैगर्दा, न्यूनतम् साझा कार्यक्रम तय गर्दा मुख्य प्रतिवद्धता सुशासन, समृद्धि र सामाजिक न्याय हो । सुशासन प्रदान गर्ने भनेपछि त भ्रष्टाचार नियन्त्रण गर्नुपर्यो नि ? माधव नेपालजी, बाबुराम भट्टराईजीले जे म्यान्डेट दिनुभयो त्यही मन्यान्डेटको जगमा उभिएर हामीले फाईलहरु खोल्छौैं । फाईल खोल्दा बाबुरामजी पर्नुहोला, माधव नेपाली पर्नुहोला हाम्रो के दोष ? उहाँले कमजोरी गर्नु भएको छ भने त पर्नेपर्छ । अहिले गिरफ्तार परेका व्यक्तिहरुको बयान, त्यसपछि पर्याप्त प्रमाणको आधारमा यो गिरफ्तारी प्रक्रिया अगाडि बढ्छ । कमजोरीको प्रकृतिको आधारमा सबै दण्डित हुन्छन्,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot