Logo

बैसरीको पहिरो बेनी-जोमसोम सडकको प्रमुख समस्या



म्याग्दी, २२ साउन । रघुगङ्गा गाउँपालिका-२ बैसरीको अधेरीखोलास्थित पहिरो बेनी–जोमसोम सडकको प्रमुख समस्या बनेको छ । निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती भोग्नु परेको छ । बेनीका स्थानीय किशोरकुमार श्रेष्ठले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न कठीन हुने गरेको बताए ।

“पहिरो खस्न रोकिएको समयमा हेरेर वारपार गर्नुपर्छ”, उनले भने, “ कुनबेला पहिरो खसेर परिन्छ भन्ने जोखिम र त्रास छ ।” सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो ।

जीप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग गरे पनि ठूला सवारीसाधनलाई वैकल्पिक सडक छैन । वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलु, स्याउलगायत कृषिउपज निकासी प्रभावित भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार पहिरो खस्ने पाखोमा बग्ने अवस्थामा रहेको ढुङ्गामाटोलाई पन्छ्याउन नेपाली सेना, नेपाल प्रहरी र श्रमिक लागेका छन् । “आइतबार १३ घन्टा लगाएर खुलाएको सडक १५ मिनेटपछि पुनः बन्द भयो”, उनले भने, “भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको छ ।”

पहिरो पन्छाउन शत्रुभञ्ज्याङ गुल्मका सैनिक र जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीको साथै आयोजनाका कर्मचारी तथा मजदुर परिचालन गरिएको छ । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ ।

तत्काललाई जोखिम न्यूनीकरणको उपाय, अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालीन समाधान गर्न माथिल्लो निकायमा पहल गर्ने आयोजना प्रमुख प्रजापतिले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot