म्याग्दी, २५ साउन । म्याग्दीमा सुन्तला र मुस्ताङमा स्याउ भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन यस वर्ष २५ हजार किलोग्राम क्षमताको तीन वटा चिस्यान गृह निर्माण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा एक र मुस्ताङमा दुई वटा चिस्यानगृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यानगृह निर्माण गरिएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए ।
“निजी फार्म, कृषक समूह र सहकारीलाई चिस्यानगृह बनाउन कूल लागतको ८५ प्रतिशतसम्म अनुदान दिइएको छ,” उनले भने, “चिस्यानगृहमा किसानले सुन्तला र स्याउ भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बेच्नेछन् ।” बेनी नगरपालिका–९ को बियाडमा परियोजनाको १० लाख अनुदानमा पाँच हजार किलोग्राम क्षमताको सुन्तला भण्डारण गर्न सकिने चिस्यान गृह निर्माण गरिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रोफार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०/१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण गरिएको छ । मार्फाको चिस्यानगृह बनाउन ११ लाख तीन हजार र खिङ्गामा ११ लाख २८ हजार अनुदान दिएको कृषि अधिकृत बस्यालले जानकारी दिए ।
वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नाका साथै बढी मूल्यमा बिक्री गर्न पाइने बेनी नगरपालिका–९ बियाडाका मधु गिरीले बताए । परियोजनाको सहयोगमा आर्थिक वर्ष २०७६/७७ मा पाँच टन क्षमताको एक वटा, २०७७/७८ मा ४२ टन क्षमताको तीन वटा, आर्थिक वर्ष २०७८/७९ मा ३० टन क्षमताको तीन वटा चिस्यान गृह निर्माण भएका थिए । यसअघि मुस्ताङको मार्फा, पाण्डाखोला, जोमसोम, चिम्ले, धवाङ र म्याग्दीको नारच्याङमा निर्माण भएका चिस्यानगृह प्रभावकारी बनेका छन् ।
परियोजनाले मुस्ताङमा स्याउ, च्याङग्रा, म्याग्दीमा बङ्गुर, आलु, म्याग्दी, पर्वत र बागलुङमा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ । गतवर्ष म्याग्दी, पर्वत र बागलुङमा सुन्तला जोनका लागि २१ लाख ४२ हजार अनुदानमा निर्माण गरिएका १८ वटा साना सिँचाइ योजनाबाट एक सय २५ रोपनीमा सिँचाइ सुविधा विस्तार भएको थियो ।
आठ लाख पचास हजार अनुदानमा बेनी नगरपालिका–३ मा दुई वटा र पर्वतको जलजला गाउँपालिका–५ मा एउटा सुन्तला नर्सरी स्थापना भएको छ । मुस्ताङमा दुई दशमलव १६ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको र म्याग्दीमा दुई हजार दुई सय सुन्तलाका बिरुवा अनुदानमा वितरण गरिएको कृषि अधिकृत बस्यालले जानकारी दिए । रासस