Logo

नारायणगढ–मुग्लिन सडकखण्ड : पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने



काठमाडौं, भदौ ५। नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच-छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, उनले भने ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए ।

गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । काठमाडौंबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot