Logo

सोलुको गार्मामा पौने ४ करोड लागतमा प्राविधिक शिक्षालय बन्दै



समाजसेवी निमा शेर्पाले जुटाए फ्रान्सेली लगानी, नगरपालिकाको पनि साझेदारी

काठमाडौं, १५ भदौ । सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै दातृ निकायको ठूलो लगानीमा प्राविधिक शिक्षालय बन्ने भएको छ । समाजसेवी निमा शेर्पाको पहलमा फ्रान्सेली दातृ निकाय सोलुच्यामको मुख्य आर्थिक लगानीमा सदरमुकाम नजिकै रहेको गार्मामा प्राविधिक शिक्षालय बन्न लागेको हो । ३ करोड ७१ लखको लागतमा बन्ने नुम्बुर प्राविधिक तालिम केन्द्रको शुक्रबार सोलुदुधकुण्ड नपा वडा नम्बर ७ मा आयोजित एक कार्यक्रममा नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पा र संस्थाका अध्यक्ष निमा शेर्पाले संयुक्त रुपमा शिलान्यस गरेका छन् ।

फ्रान्सेली दातृ निकायको ७० प्रतिशत र सोलुदुधकुण्ड नगरपालिकाको ३० प्रतिशत लगानीमा २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरि शिलान्यास गरिएको भवनको निर्माणको जिम्मा पिके कन्ष्ट्रक्सन कम्पनीले लिएको छ । ७ रोपनी क्षेत्रफलमा बन्ने २ वटा सुविधासम्पन्न भवनमा आवासीय सुविधा सहितका कक्षाकोठाहरु हुने छन् ।

सिटिई भिटिबाट सम्बन्धन लिएर तत्कालको लागि ईलेक्ट्रिसियन, प्लम्बिङ र कार्पेन्टर गरि ३ वटा विधामा तालिम दिईने छ । शिलान्यास पछि वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमु्ख नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकाले युवाहरुलाई सिपमुलक बनाउँदै रोजगारी सृजना गर्नका लागि शिक्षालयमा लागत साझेदारी गरेको बताए ।

आफ्नो प्राथमिक्ता युवा रोजगारी सृजना गर्नु रहेको भन्दै मेयर शेर्पाले यो तालिम केन्द्रबाट दक्ष जनशक्ति उत्पादन भई ब्यापक रोजगारी सृजना हुने बताए ।

नगरपालिकाको चौतर्फि विकासमा आफु लागि परेको भन्दै मेयर शेर्पाले शिक्षा, स्वास्थ्य र सडक जस्ता आधारभुत कुराको गुणस्तरीय विकासमा ठूलो प्रगति भएको बताए । नुम्बुर प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले आफु विगत २३ बर्षदेखि समाजसेवाको क्षेत्रमा रहेको भन्दै जिल्लाको अहिलेको शिक्षा क्षेत्रको आवश्यक्तालाई ध्यानमा राखेर प्राविधिक धारको शिक्षालय स्थापना गरेको बताए ।

अध्यक्ष शेर्पाले यसको दिगो संचालनको लागि भने स्थानीय सरकारले दरिलो साथ दिनु पर्ने आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले प्राविधि शिक्षालयको स्थापना पछि युवाहरुको सिप विकास हुने भएकाले वैदेशिक रोजगारीमा जाँदा समेत सहज हुने धारणा राखिन् ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले आजको आवश्यकतानै दक्ष जनशक्ति उत्पादन रहेको भन्दै नुम्बुर प्राविधिक शिक्षालयले सिंगो जिल्लामा दक्ष र रोजगारमुलक जनशक्ति उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

सोलुखुम्बु बहुमुखि क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले जिल्लामा नौलो धारको शिक्षालय स्थापना गरेर ऐतिहाँसिक काम गरेको भन्दै समाजसेवी शेर्पाको प्रसंशा गरे । उनले अल्पकालीन समयमा दक्ष जनशक्ति उत्पादनको लागि ठूलो टेवा पुग्ने बताए ।

नगरपालिकाका पुर्व उपमेयर कल्पना राईले यो शिक्षालयले बढ्दो बेरोजगारी समस्या समाधानमा योगदान गर्ने धारणा राखिन् । वडा नम्बर ६ का वडा अध्यक्ष आङफुर्वा शेर्पाले प्राविधिक शिक्षालयको स्थापनासँगै नगरपालिकाको विकासमा महत्वपूर्ण टेवा थपिएको बताए ।

त्यसैगरी, वडा नम्बर ७ का का.बा. वडा अध्यक्ष भलाकाजी कार्र्कीले प्राविधिक शिक्षालय निर्माणको लागि वडाबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जीवनज्योती माध्यामिक विद्यालय नेलेका प्रधानाध्यापक प्रभुराम बस्नेतले अबको युग विज्ञान र प्रविधिको भएकाले व्यवसायिक धारको शिक्षामा जोड दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाकाईका प्रमुख, जिल्ला प्रहरी प्रमुख, नेपाली काँग्रेसका उपसभापति फुदोर्जी शेर्पा लगायत जनप्रतिनिधि समेतको उपस्थिती थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot