Logo

संस्कृत भाषा संरक्षणका लागि ‘आधारभूत संस्कृत भाषा’ कक्षा



वालिङ (स्याङ्जा) १८ भदौ । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको छ । संस्कृत भाषा पुस्तान्तरण गर्दै संस्कृत वाङ्मयको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने मुख्य उद्देश्यसहित भाषा कक्षा थालिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुलीले बताए ।

विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवासङ्घ स्याङ्जाको आयोजना र केदारनाथ मन्दिरको समन्वयमा वालिङ ८ स्थित केदारनाथ मन्दिरमा दैनिक एक घण्टा भाषा कक्षा सञ्चालन भएको हो ।

संस्कृत भाषाप्रति युवा पुस्ताको रुचि नदेखिँदा भविष्यमा भाषा नै लोप हुनसक्ने र विभिन्न धार्मिक कार्यसमेत प्रभावित हुनसक्ने भएकाले भाषा हस्तान्तरणलाई अभियानकैरुपमा अगाडि बढाइएको उनले बताए । “संस्कृत भाषा कक्षामा वैद्धिक धर्म, संस्कार, संस्कृति, कर्मकाण्ड, ज्योतिष विद्या, पाठ पारायण तथा सामान्य व्याकरणसम्बन्धी अध्ययन अध्यापन गराउँछौँ”, उनले भने, “तीन÷तीन महिना अवधिको भाषा कक्षा सञ्चालन गर्ने र अर्को तीन महिनापछि अर्को नयाँ समूह बनाइ नियमित गर्दै जाने तयारी हाम्रो छ ।”

संस्कृत भाषा सिक्न ईच्छुक जोकोहीलाई पनि कक्षामा सहभागी गराउने संस्कृत भाषा कक्षा कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालले बताए । “विभिन्न समुदायका जातजाति, भाषाभाषीका इच्छुक महिला, पुरुष संस्कृत भाषाप्रति आकर्षित हुनुभएको छ”, संयोजक अर्यालले भने, “भाषा सिक्न इच्छुक हुने जसले पनि पाउने भएकाले सहभागीको सङ्ख्या बढ्ने अनुमान गरेका छौँ ।”

बिहान र साँझ दुई समूह बनाइ एक–एक घण्टा भाषा कक्षा सञ्चालन गर्ने तयारी भएको छ । बिहानमा ३० जना र साँझमा ३० जनामात्रै कक्षामा राखेर अध्यापन गराइन्छ । ६० जनाभन्दा माथिका इच्छुक तीन महिनापछि अर्को कक्षा सुचारु गर्दा समावेश हुनेछन् ।

शुभकार्यका लागि समेत पण्डितको अभाव हुन नदिन र आम्दानीका दृष्टिले पनि सहज हुने भएकाले संस्कृत भाषा कक्षा प्रभावकारी हुने उनको भनाइ छ । मानिसमा आध्यात्मिक चेतना जागृत गराउन पनि भाषा कक्षाले महत्वपूर्ण टेवा पुग्ने दाबी संयोजक अर्यालको छ । संस्कृत भाषा कक्षालाई नियमितरुपमा सञ्चालन गर्दै अगाडि बढ्ने संयोजक अर्याल बताउछन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot