Logo

आज दर खाने दिन, शुरु भयो चारदिने हरितालिका तीज



काठमाडौं, भदौ ३१ । हरितालिका व्रतको तयारीस्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।

विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् ।

तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज बर्तालुहरु मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने गरेका छन् ।

आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ ।

पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot