Logo

‘मधेसमा संविधान दिवस मनाउँदैनौं’



महन्थ ठाकुर–
अन्तरिम संविधानको प्रस्तावनामा राजनीतिक सहमतिका आधारमा संविधानसभाबाट संविधान बनाउने कुरा लेखिएको थियो । दोस्रो संविधानसभामा विभिन्न समिति बनेका थिए । तर त्यसको प्रतिवेदन अनुसार काम भएन । हाम्रो सुनुवाइ भएन । जल्दबाजीमा काम गरे । फास्ट ट्रयाकमा बनाए । हाउसमा पनि पर्याप्त छलफल भएन । बाध्य भएर हामीले सडकमा उत्रिनु पर्‍यो ।
संविधान दिवसको कुरा गर्दा हाम्रा आँखा रसाउँछन्, गला अवरुद्ध हुन्छन् । संविधानलाई लिएर मधेसमा खुन खराबा भयो । यो संविधानमाथि खुनको छिटा परेको छ । संविधान जारी गरेको दिनमा नै हामी आन्दोलनमा थियौं । हाम्रा कतिपय साथीको छातीमा गोली लाग्यो । टाउकोमा लाठी बजारियो । आँगनमा लास थियो । चुलो चौका बन्द थियो । चारैतिर अन्धकार थियो ।
अहिले पनि हाम्रा थुप्रै साथी जेलमा छन् । कतिपय तारेखमा छन् । दर्जनौं अपांग छन् । उनीहरुका लागि अहिलेसम्म सरकारले व्यवस्था गरेको छैन । हरेकजसो सरकारले हामीसँग संविधान संशोधन गर्ने, जेलमा भएकालाई रिहा गर्ने र झूटा मुद्दा फिर्ता लिने सम्झौता गरे । हामीले आन्दोलन फिर्ता लियौं । बलिदान दिनेलाई सहिदसम्म घोषणा भएका छन् । तर अरु उपलब्धि हुन सकेको छैन ।
तसर्थ नेपालको संविधान, २०७२ विवादित संविधान हो । हामीले यसको विरोध गर्दै आएका छौं । यो विभेदकारी छ । कतिपय ठाउँमा भाषागत, प्राविधिक लगायत थुप्रै त्रुटि छँदै छन् । नयाँ सरकार बन्ने बेला त्यस्ता त्रुटि देखापर्छन् । हामीले संशोधन गराउन सकेनौं कि सत्तामा बसेका दलहरुले संशोधन गरेनन् ? यो विचारणीय छ । कुनै पनि संविधान स्थायी दस्तावेज हुँदैन । यो संविधानमा त्रुटि छन्, तिनलाई संशोधन नगरी सुखै छैन । हामीले यसलाई उत्कृष्ट संविधानको रुपमा स्वागत गरेका छैनौं । मधेसमा संविधान दिवस मनाउँदैनौं ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरसँग गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्

Screenshot