Logo

अभिनास बोहरा नायक बनेपछि माल्दिभ्सविरुद्ध नेपालको शानदार जित



काठमाडौं,१४ असोज । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ।

२१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो।

नेपालको जितमा अभिनास बोहरा नायक बने । अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए। नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो ।

३.४ ओभर बलिङ गरेका अभिनासले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन्। बाँकी एक/एक विकेट सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले लिए।  

माल्दिभ्सका लागि मुअभिथ गनेले सर्वाधिक ३६ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। तर ६ ब्याटरले रनको खातै खोल्न सकेनन्। इस्माइल अलीले ३, फरिद शिउस १० रन बनाउँदा र रशीद रासम १२ रनमा नटआउट रहे। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए ।

मंगोलियाविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल आज ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए । उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए ।

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot