Logo

प्राविधिक धारमा पनि छैनन् विद्यार्थी



झलनाथ खनाल/रासस भजनी (कैलाली), १८ असोज । सरकारले प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरेको छ । सरकारबाटै मान्यता प्राप्त गरेका कैलालीका पाँच विद्यालयमा सिभिल इञ्जिनियरिङको पढाइ हुँदै आएको छ । कक्षा १२ सम्मको प्राविधिक शिक्षाले मध्यम तहको जनशक्ति उत्पादन हुने र स्वरोजगार बन्न सकिने भन्दै उक्त कार्यक्रम लागू गरेको बुझाइ अभिभावकहरुको छ ।

“तल्लो कक्षाबाटै प्राविधिक अध्ययन गर्न पाउनु विद्यार्थीका लागि राम्रो भए पनि सामुदायिक विद्यालयमा विद्यार्थीको अङ्ग्रेजी कमजोर हुँदा विद्यार्थीहरु आँट गर्न सकिरहेका छैनन्”, स्थानीय कमल सुवेदीले भने, “प्राविधिक शिक्षाको महत्व ग्रामीण क्षेत्रमा अझै बुझ्न र बुझाउन पनि सकिएको छैन ।”

सामुदायिक विद्यालयमा सुरु भएको सिभिल इञ्जिनियरिङको अध्यापनमा कतिपय विद्यालयहरुलाई विद्यार्थी पाउन मुस्किल हुन थालेको छ । ग्रामीण क्षेत्रमा सिभिल इञ्जिनियरिङको अध्यापनको अनुमति पाएका विद्यालयमा त्यो समस्या देखिएको छ ।

कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको केदारेश्वर माध्यमिक विद्यालयमा २०७६ सालदेखि सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरिएको थियो । केही वर्ष निर्धारण गरिएको कोटाअनुसार ४८ जना विद्यार्थी पु¥याएको सो विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । भर्ना भएका विद्यार्थी पनि बीचमै कक्षा छाड्न थालेका छन् । कक्षा ९ मा अहिले ३५ व्द्यिार्थी भर्ना भएका छन् ।

“भौगोलिक विकटता, विद्यार्थी र अभिभावकमा प्राविधिक शिक्षाको महत्वको ज्ञान नहुनु र नेपाली माध्यममा अध्ययन गरेका विद्यार्थीलाई अङ्ग्रेजीमा अध्ययन गर्न समस्या हुने भएपछि विद्यार्थी सङ्ख्यामा कमी आएको पाएका छौँ”, विद्यालयका प्रधानाध्यापक लीलाराम विश्वकर्मा भन्छन्, “यस क्षेत्रमा निजी विद्यालय नहुँदा र सामुदायिक विद्यालयका विद्यार्थीले चासो नदिँदा बर्सेनि विद्यार्थी सङ्ख्यामा कमी आएको छ ।”

लम्की चुहा नगरपालिकामा रहेको जनजागृति माध्यमिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । इञ्जिनियरिङको अध्ययनका लागि प्रतिस्पर्धा गर्ने विद्यार्थी सङ्ख्या नै विद्यालयले पु¥याउन सकेको छैन । हाल कक्षा ९ मा २३ मात्रै विद्यार्थीले सिभिल इञ्जिनियरिङको अध्ययन गरिरहेका छन् ।

“विद्यार्थी र अभिभावकमा प्राविधिक विषयको महत्वका बारेमा ज्ञान छैन, बाहिरबाट विद्यार्थी आएर पढ्नसक्ने यातायात लगायतको सुविधा छैन”, विद्यालयका प्रधानाध्यापक नयाँराम विकले भने, “विद्यालयमा प्रयाप्त सिभिल इञ्जिनियरिङका लागि चाहिने स्रोतसाधनको अभावका कारण पनि विद्यार्थी कम भएका हुन सक्छन् ।” उनले स्थानीय सरकारले प्राविधिक विषयको आवश्यकता र सम्भावनाका बारेमा अभिभावकलाई चेतना फैलाउन आवश्यक रहेको बताए ।

कैलारी गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालयमा पनि कक्षा ९ देखि सिभिल इञ्जिनियरिङको अध्यापन हुँदै आएको छ । त्यहाँ पनि तोकिएको सिटअनुसार विद्यार्थी सङ्ख्या पुगेका छैनन् । हाल कक्षा ९ मा ३३ विद्यार्थी मात्रै भर्ना भएका छन् । त्यहाँ अझै १३ जनाको सिट खाली छ । त्यहाँको समस्या पनि भौगोलिक विकटता र अभिभावकमा प्राविधिक ज्ञानको कमी नै रहेको विद्यालयका प्रधानाध्यापक जितबहादुर रावत बताउछन् ।

“शिक्षित परिवारका बालबालिका अहिले पनि सिभिल इञ्जिनियरिङको अध्ययन गरिरहेका छन्, जुन अभिभावकलाई सामान्य लेखपढसम्म गर्न आउँदैन तिनलाई सम्झाउन सकिएको छैन”, प्रधानाध्यापक रावत भन्छन्, “अब स्थानीय सरकारले प्राविधिक विषयमा विद्यार्थी सङ्ख्या बढाउनका लागि नयाँ योजना ल्याउनुपर्छ, स्थानीय सरकारले अभिभावकलाई सम्झाउन र बुझाउन सक्यो भने प्राविधिक विषयमा विद्यार्थीको प्रतिस्पर्धा देख्न सकिनेछ ।”

ग्रामीण क्षेत्रमा जस्तो सिभिल इञ्जिनियरिङको अध्यापनमा सहरी क्षेत्रमा भने छैन । बीचमा केही विद्यार्थीले छाड्ने गरे पनि भर्नाको समयमा अन्य दुई विद्यालयले विद्यार्थी पाउने गरेका छन् । टीकापुर नगरपालिकामा रहेको कर्णाली नमूना माध्यमिक विद्यालयमा भने त्यस्तो समस्या नभए पनि बीचमा पढाइ छाड्ने परिपाटी त्यहाँ पनि दोहोरिने गरेको छ ।

सो विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले कक्षा ९ मा भर्ना हुँदा तोकिएको सिटअनुसार विद्यार्थी सङ्ख्या पुग्ने गरे पनि कक्षा ११÷१२ मा पुग्दा त्यो सङ्ख्या कायम नरहेको बताए । उनले ११ कक्षामा केही विद्यार्थी बाहिरबाट आएर भर्ना हुने गरेको हुँदा त्यति समस्या नभए पनि सिटअनुसार विद्यार्थी नपुग्ने गरेको बताए ।

“अहिले प्रायःसबै पालिकाको एउटा विद्यालय प्राविधिक विषयको अध्यापन हुन्छ, फेरि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को पाठ्यक्रमभन्दा हाम्रो पाठ्यक्रम गाह्रो छ, हाम्रोमा नौ सय पूर्णाङ्कको विद्यार्थीले अध्ययन गर्नुपर्छ”, प्रधानाध्यापक शर्मा भन्छन्, “अर्को विद्यार्थीहरुको सामुदायिक विद्यालयमा अङ्ग्रेजीमा राम्रो ‘बेस’ नभएका कारण पनि पढाइ बीचमा छाड्ने स्थिति रहेको हुनसक्छ ।”

धनगढी माध्यमिक विद्यालयमा ९ कक्षामा भर्ना हुँदा विद्यार्थीमा ठूलो प्रतिस्पर्धा हुन्छ । त्यहाँ अहिले पनि निर्धारण गरेको सिटअनुसार विद्यार्थी अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक लक्ष्मण भट्टले बताए। कक्षा १० उत्तीर्ण गरेपछि भने केही विद्यार्थी पलायन हुने गरेका छन् भने केहीले बीचमा रोजगारी पाएका खण्डमा पढाइ छाड्ने गरेका छन् । उनका अनुसार ग्रामीण क्षेत्रका अभिभावक अझै प्राविधिक शिक्षाको महत्वका बारेमा जानकार छैनन् ।

“ग्रामीण क्षेत्रको जस्तो समस्या सहरी क्षेत्रमा छैन, सहरी क्षेत्रमा प्राविधिक शिक्षामा तीव्र प्रतिस्पर्धा छ, जुन प्रतिस्पर्धा हाम्रो विद्यालयमा पनि हुन्छ”, प्रधानाध्यापक भट्ट भन्छन्, “प्राविधिक शिक्षाको महत्व बुझेका अभिभावकलाई बालबालिकालाई कस्तो शिक्षा दिने भन्ने ज्ञान छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot