Logo

बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु



उगादुगुऊ, ५ मङ्सिर । पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले मङ्गलबार बताएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले सन् २०१५ मा छिमेकी मुलुक मालीबाट फैलिएको जिहादी विद्रोहसँग लडिरहेको छ । सङ्घर्षका क्रममा १७ हजारभन्दा बढी नागरिक र सैनिकको मृत्यु भएको छ भने २० लाख मानिस विस्थापित भएका छन् ।

एक स्थानीय बासिन्दाले पछिल्लो हिंसामा पूर्वी तापोआ प्रान्तको प्रमुख सहर डायपागामा एकसाथ भएको हमलामा शनिबार तीन सैनिकसहित १५ जना मारिएको बताएका छन् । क्षेत्रीय नागरिक समाज सङ्गठनका प्रवक्ता कोन्डिया पियरे योनलीले हताहतबारे पुष्टि गरेका हुन् ।

उनले आइतबार डायापागा नगरपालिकाको चिहानमा गाडिएका पीडितहरूको सम्मानमा मङ्गलबार उक्त क्षेत्रका विद्यालय, बजार र सार्वजनिक सेवाहरू बन्द गरिएको बताए ।

एक सुरक्षा स्रोतका अनुसार सेनाले जवाफी हमला गरिरहेको छ । स्रोतले भनेको छ, “पूर्वमा हवाई तथा स्थल कारबाही भइरहेको छ, कारबाहीका क्रममा ५० भन्दा बढी आतङ्कवादी मारिएका छन् र उनीहरूको धेरै आधारलाई नष्ट गर्ने अनुमति दिइएको छ ।”

बुर्किना फासोमा सन् २०२२ सेप्टेम्बरमा भएको कूपछि एउटा सङ्क्रमणकालीन सरकारले शासन गरिरहेको छ । जुन्ता नेतृत्वको सरकारले जिहादी विरोधीसँगको लडाइँमा १८ वर्षभन्दा माथिका पुरुषहरूलाई भर्ती गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot