Logo

हाम्रा मुद्दा बोक्छन् भने प्रचण्डलाई पनि साथ दिन तयार छौं : राप्रपा नेता



काठमाडौं, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद दीपकबहादुर सिंहले संवैधानिक राजसंस्था, सनातन सापेक्ष हिन्दुराष्ट्रको पक्षमा र संघीयता खारेजीका लागि सडकमा जनसागर उत्रिएको बताएका छन् ।
‘काठमाडौं, बिर्तामोड जता जानोस्, सडकमा हामीभन्दा पनि नेपाली जनता आइरहेका छन् । संवैधानिक राजसंस्था, सनातन सापेक्ष हिन्दुराष्ट्रको पक्षमा र संघीयता खारेजीका लागि जनताले सडक तताउँछन्, हामी संसद् तताउँछौं । व्यवस्थाको विकल्प नखोजेको भए सडकमा जनसागर देखिन्थ्यो र ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
दुर्गा प्रसाई समूहको आन्दोलनलाई राप्रपाको समर्थन रहेको पनि सिंहले बताए । उनले भने, ‘दुर्गा प्रसाईको आन्दोलनमा राप्रपाको समर्थन छ । उहाँले पूर्वराजा र राप्रपाले साथ नदिए ब्याक हुन्छु भनेको मैले सुनेको छैन । यो कुरा कहाँबाट आएको छ, कसरी मलाई थाहा छैन । हाम्रो मुद्दा बोक्छन् भने दुर्गा प्रसाई त के, प्रचण्डलाई पनि साथ दिन तयार छौं ।’
गणतन्त्रको विनाश गणतन्त्रवादीले नै निम्त्याएको सांसद सिंहले बताए । उनले भने, ‘पैसा खाएर ज्यानमारालाई खुलेआम माफी मिनाहा दिइएको छ । रद्दीको टोकरीमा फालिसकेको नागरिकता विधेयक राष्ट्रपतिले भारतजानु एकछिन अगाडि प्रमाणीकरण गरे । अहिले बाटोमा हिँड्नेलाई पक्रेर थुनिरहेको छ । टियर ग्यास र पानीको फोहोरा हानेको छ । जनतालाई बोल्ने अधिकार छ कि छैन ? गणतन्त्रको नाश गरेको गणतन्त्रवादीले नै हो । गणतन्त्रवादीले देशले श्रीलंका बनाउन खोजेका छन् क्यारे ।सुनको लंका बनाउन नेताका बाउछोरा मिलेर क्विन्टलका क्विन्टल सुन तस्करी गरिरहेका छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot