Logo

उपेन्द्र यादवसँग टाढिने प्रचण्डको चाहना, बाबुरामसँग एकता गर्नेगरि अघि बढे



काठमाडौं, १२ मंसिर । समाजवादी मोर्चा घोषणा हुँदै गर्दा यसका सूत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नै समेटिएका थिएनन् । खासमा समाजवादी मोर्चाको परिकल्पना उनै भट्टराईको थियो । गत मंसिरको निर्वाचनमा आफ्ना सहयोद्धा प्रचण्डलाई गोरखा–२ को चुनावी मैदान खाली गरि दिएर भट्टराई समाजवादी मोर्चा गठन गर्नेगरि गृहकार्यमा जुटेका थिए । तर, समाजवादी मोर्चा घोषणा हुँदा बाबुरामले नेतृत्व गरेको नेसपा भने छुट्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सत्ता जोगाउनको लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रभावमा परेर मोर्चाबाट बाबुरामलाई अलग गरेको आरोप छ । यादवले नै बाबुरामलाई पनि मोर्चामा समावेश गर्ने हो भने आफ्नो दल सरकारबाट नै बाहिरिने चेतावनी दिएको चर्चा अहिलेपनि सेलाएको छैन् ।

मोर्चा घोषणा गर्दा आफूहरुलाई अलग राखिएको भन्दै बाबुराम प्रचण्डसँग फायर भएका थिए । उनीहरुबीच करिब करिब पानी बाराबारको अवस्था सिर्जना भएको थियो । चुनावअघि नै पार्टी एकताको तयारी थालेका नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकता नै टरेको उनै बाबुरामले घोषणा गरेका थिए ।

तर, पछिल्लो समय दुई दलबीच एकता हुनेगरि वार्ता तथा छलफल भए । बाबुराम र प्रचण्डले नै पार्टी एकता गर्नेगरि निर्णायक छलफल गरेका थिए । त्यसपछि बाबुराममले केन्द्रीय कमिटीको बैठक राखेर माओवादीसँग एकताबारे महत्वपूर्ण निर्णय लिएका छन् । उनकै नेतृत्वमा एकता संयोजन समिति गठन भएको छ ।

माओवादीसँग एकताको लागि बाबुरामलाई पार्टीकै नेताहरुले ठूलो दबाब दिएका थिए । खासगरी अर्का अध्यक्ष महिन्द्र राय यादव, सह–अध्यक्ष गंगानारायण श्रेष्ठले बाबुराममाथि माओवादीसँग एकता गर्नेगरि दबाब सिर्जना गरेका थिए । उनीहरुकै दबाब र हालै बालुवाटारमा भएको प्रचण्डसँगको भेटपछि बाबुराम माओवादीसँग एकताको लागि राजी भएका हुन् । बाबुराम र प्रचण्डबीचको एकताको लागि वातावरण बन्नु अर्को कारण हो–जसपासँग प्रचण्डले सम्बन्ध टुटाउन चाहनु ।

उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरेको र आफू नेतृत्वको सरकारको विकल्प खोज्ने कार्य गरेको प्रचण्डको बुझाई छ । खासगरी कोशीमा कांग्रेसका शेखर कोइराला समूहले विद्रोह गरेर सरकार बनाउँदा यता केन्द्रमा पनि सरकार ढाल्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीको निवास बालकोटमा उपेन्द्रसहितका नेताहरु छलफल जुटेको बालुवाटारको बुझाई छ ।

प्रधानमन्त्री दाहालले छिट्टै जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने तयारी पनि गरेका छन् । अहिले जसपाबाट अशोक राई शिक्षा र डा. वीरेन्द्र प्रसाद महतो वन तथा वातावरणमन्त्री छन् । यस्तै, प्रमिला कुमारी पनि शिक्षा राज्यमन्त्रीको भूमिकामा छिन् । उपेन्द्र यादवलाई आफूले राजनीतिक रुपमा यसपटक ठूलो गुण लगाएको भएपनि उनले भने आफ्नै विकल्प खोज्नेगरि एमाले नेतृत्वसँग उठवस गरेको प्रधानमन्त्री प्रचण्डको बुझाई छ ।

उपेन्द्रकै कारण आफूले बाबुरामसँग हुन लागेको एकता प्रक्रियालाई पनि लत्याएर समाजवादी मोर्चामा सहभागी नगराएकोमा भने प्रचण्डले पछुतो मानेका छन् । बाबुरामसँगको भेटमा दाहालले यसबारेमा पनि खुलेर आफ्नो भनाई राखेको स्रोतको दाबी छ । प्रचण्डले अब उपेन्द्रसँग वारपार नै गर्ने मुड बनाएका छन् ।

बरु, रास्वपालाई महत्वपूर्ण मन्त्रालय दिन प्रचण्ड तयार भएको बुझिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको आगामी पुष १० गते एक वर्ष पुग्दैछ । त्यही सेरोफेरोमा प्रधानमन्त्री दाहालले मन्त्रिमण्डलको पूरै सेट परिवर्तन गर्नसक्ने अनुमान भैरहेको छ । तर, त्यसअघि नै भएपनि आश्चर्य मान्न नहुने माओवादी केन्द्रका शीर्ष नेताहरुको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot