Logo

जाजरकोट र रुकुममा एमालेले बनायो ८१३ अस्थायी आवास



काठमाडौं,२० मंसिर । नेकपा एमालेका स्वयंसेवकहरूले जाजरकोट भूकम्प प्रभावितका लागि ८१३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ध्वस्त भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका ८१३ वटा निजी आवास र १६ वटा अस्थायी विद्यालयको निर्माण गरेको प्रभावित क्षेत्रमा खटिएका एमाले केन्द्रीय विपत व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलले जानकारी दिए ।

कात्तिक १८ गते नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । लगत्तै बसेको पार्टीको सचिवालय बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो । संयोजक पौडेलका अनुसार कात्तिक १८ गतेदेखि नै पार्टीको जिल्ला कमिटी, विद्यार्थी र युवाहरू उद्धार, खोज र राहतमा लागेका थिए ।

एमालेका स्वयंसेवकहरूले कात्तिक ३० गतेदेखि काम थालेका थिए । पहिलो टोलीका रूपमा जिफण्टका एक सय जना स्वयम् सेवक परिचालन गरेर शुरू भएको थियो । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका वस्तीमा २५ जनाका दरले ४० समूह परिचालित थिए । पार्टीका सबै प्रदेश कमिटीहरू र जनसंगठनहरूबाट खटिएका स्वयंसेवक भूकम्प पीडितको सेवामा खटिएका हुन् ।

यसैबीच एमाले उपत्यका विशेष प्रदेश कमिटीले खटाएको स्वयंसेवक टोलीले भूकम्पबाट बढी प्रभावित जाजरकोटको नलगाड नगरपालिका–१ स्थित चिउरी तथा राम्री गाउँमा पालमुनि बसिरहेका ४५२ जना व्यक्ति लाभान्वित हुने गरी ८७ वटा अस्थायी घरटहरा निर्माण गरी हस्तान्तरण गरेको उपत्यका प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले जानकारी दिए ।

भूकम्पबाट जाजरकोटमा १०१ र रुकुमपश्चिममा ५३ गरी १५४ जनाले ज्यान गुमाएका थिए भने ९४ जना गम्भीर घाइते भएका थिए । भूकम्पले जाजारकोट जिल्लामा मात्रै नौ हजार ७९४ घर पूर्णक्षति गरेको थियो भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुर्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्