Logo

यू-१९ एसिया कप: उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानले दियो नेपाललाई २६२ रनको विशाल लक्ष्य



काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २६२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ अफगानस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६१ रनको उत्कृष्ट योगफल तयार गरेको हो । उसका लागि जाम्सीद जार्दानले शानदार शतक प्रहार गरे ।

उनले १५२ बलमा ८ चौका हिर्काउँदै १०६ रनको शतकीय पराी खेले । त्यस्तै नुमान साहले ४१ बलमा ५ चौका र ३ छक्का हिर्काउँदै ६० रनको अर्धशतकीय पारी खेले । रहिमुल्लाह जुम्रातीले ३५ रन थपे ।

जाम्सीदले चौथो विकेटका लागि रहिमुल्लाह जुरमतिसँग ८१ रनको साझेदारी गरेका थिए। सो साझेदारी नेपालका दिपेश कँडेलले तोडेका थिए।२८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच हुनुअघि रहिमुल्लाहले ६५ बलमा २ चौकाको मद्दतमा ३५ रन जोडे।

रहिमुल्लाहसँगै नुमान शाहले  पनि जाम्सीदसँग ९७ रनको साझेदारी गर्दा अफगानिस्तानको स्कोर बढेको थियो। नुमानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६० रन जोडेको थियो। 

अफगानिस्तानका खलिल अहमद १३ रन र कप्तान नशीर खान ४ रनमा आउट भए। 

बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २-२ तथा आकाश चन्द र दीपेश कँडेलले समान १ विकेट लिए । ६ ओभर बलिङ गरेका हेमन्तले ३७ रन खर्चिँदा ९ ओभरमा गुल्सनले ४६ रन खर्चिए ।

समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल आजको खेल जित्दै सेमिफाइनल सम्भावना कायम राख्ने लक्ष्यमा छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उत्तम थापा मगरले अर्धशतक बनाएपछि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर थियो ।

सिनियर टोलीका स्टार अलराउण्डर गुल्सन झाले बलिङमा २ विकेट लिएपनि ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

यस्तै कप्तान देव खनालको ब्याट पनि पहिलो खेलमा चलेन । यी दुई खेलाडीमा नेपालले ठूलो आशा राखेको छ ।

उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot