Logo

बङ्लादेशमा रेल दुर्घटना : एकको मृत्यु आठ घाइते



ढाका , २७ मङसिर । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेबपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए ।

उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा ‘बोगी’ लिकबाट बाहिरिएपछि एक जनाको घटनास्थलमै मृत्यु भएको हो । रेल दुर्घटनाको कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घन्टौंसम्म रेल सेवा अवरुद्ध भएको थियो ।

विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।

विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी – मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।

बङ्लादेशको प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) तथा सहयोगीले निर्वाचन आयोगले देशको १२ औं संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि मङ्गलबार बिहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ ।

विपक्षी दलहरूले असोज अन्तिमदेखि आह्वान गरेको यो ११ औं चरणको विरोधको कार्यक्रम (अवरोध) हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot