Logo

गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने त्रिविको तयारी



काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने त्रिविको यस समारोह अवलोकलनका लागि गिनिज बुक अफ द वर्ल्ड रेकर्डको प्रतिनिधि टोली काठमाडौं आएको हो।

त्रिविले यसपटक धेरै विद्यार्थीलाई दीक्षित गराउने दाबी गर्दै गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। टोलीले आजको समारोहको अवलोकन गर्ने र त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ।

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् । त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।

विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने छन् । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिने छ ।



प्रतिक्रिया दिनुहोस्