Logo

इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु



बगदाद, ११ पुस । पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ ।

सुरक्षा मिडिया सेलले जारी गरेको विज्ञप्तिअनुसार पर्यटक भिसामा इराक प्रवेश गरेका एक साउदी र एक कुवेती अनबर, सलाहुद्दिन र निनेवेह प्रान्तमा फैलिएको विशाल मरुभूमिमा बेपत्ता भएका थिए । इराकी सुरक्षा बलले अनबर मरुभूमिमा बेपत्ता पर्यटकको खोजीमा व्यापक अभियान सञ्चालन गर्दा उनीहरूको जलेको शव फेला पारेका हुन् ।

विज्ञप्तिमा आतङ्कवादी समूह इस्लामिक स्टेट (आइएस) ले सडक किनारमा छोडेको पुरानो बममा उनीहरूको गाडीले ठक्कर दिँदा भएको विस्फोटबाट मृत्यु भएको आशङ्का गरिएको छ ।

यसैबीच अनबर प्रान्तको एक सुरक्षा स्रोतका अनुसार कुवेती र साउदी मरुभूमिमा शिकार यात्रामा रहेका थिए । उनीहरू आइएसको गतिविधिबाट पूर्णरूपमा सुरक्षित थिएनन् । सन् २०१७ मा आइएसको पराजयपछि इराकमा सुरक्षा स्थितिमा सुधार भएको छ । यद्यपि आइएसका केही अवशेष सहरी केन्द्र, मरुभूमि तथा उबडखाड क्षेत्रमा लुकेका छन् र उनीहरूले सुरक्षा फौज र सर्वसाधारणविरुद्ध लगातार गुरिल्ला हमला गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot