Logo

राष्ट्रिय सभामा एमालेलाई भाग दिन उपेन्द्र सकारात्मक,माधव फकाउँदै प्रचण्ड



काठमाडौं,१९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेट्ने प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल गर्न बसेको सत्तारुढ गठबन्धन दलको बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभामा सँगै लैजान सकिनेबारेमा छलफल भएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालका शीर्ष नेताहरु बैठकमा सहभागी भएका थिए ।

छलफलको सुरुवातमा प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए । दाहालले राष्ट्रिय सभामा एमालेले ६ सिट मागेको जानकारी गराएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार प्रचण्डको उक्र प्रस्तावमा नेपाली कांग्रेस लगभग सहमत भएको छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि लचक बनेका छन् ।

यता सत्ताको अर्को घटक दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । नेपालले एमालेले संसदीय समितिदेखि हरेक पदमा भागबन्डा खोजेको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । आजको बैठकमा माधव नेपाल एकाएक कड्किएपछि गठबन्धनको बैठक यत्तिकै सकिएको थियो ।

सातवटै प्रदेशमा सत्तारूढ दलको बलियो मतभार रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्ष एमालेलाई समेत भागबन्डामा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा यसअघि नै तयार भएर त्यसबारले प्रस्ताव अघि बढाएका हुन् ।

राष्ट्रिय सभामा भागबन्डाको हिस्सेदार भएर कांग्रेस र माओवादीसँग सहकार्य गर्न ओली आफैं अघि बढेपछि देउवा र दाहाल १९ सिटमा एमालेलाई केही सिट दिन तयार भएका हुन् ।

कांग्रेस र जसपा एमालेलाई साथमै लिएर हिड्न तयार देखिएपछि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई मनाउने प्रयास गरेका छन् । प्रचण्डले एमालेलाई केहि सिट दिएर वर्षोदेखि टुंगिन नसकेको टीआरसी विधेयक आफ्नै नेतृत्वमा टुंग्याउन चाहेका छन् ।

यता प्रतिपक्षी दल एमालेले पनि सत्ता गठबन्धनले आफूले मागेजती सिट दिएमा टीआरसी विधेयक टुंग्याउन सहयोग गर्ने बचन दिएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको सहकार्यको प्रस्तावपछि एमालेले शुक्रबारका लागि सचिवायल बैठकसमेत डाकेको छ । बैठकमा यसबारेमा पनि छलफल हुने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot