Logo

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा फेरिए निर्वाचन अधिकृत, नयाँ को कहाँ ? (सूचिसहित)



काठमाडौं,१९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत परिवर्तन भएका छन् । निर्वाचन आयोगले यसअघि खटाएका निर्वाचन अधिकृतहरु उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि आयोगले पुन नयाँ निर्वाचन अधिकृत खटाएको हो ।

आयोगले पुस १२ गते सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेको थियो । तर, न्याय परिषद्को पुस १८ गतेको निर्णयबाट उनीहरु उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका हुन् । यस्तै बागमती प्रदेशको निर्वाचन अधिकृत तोकिएका महेन्द्र बहादुर कार्कीले पनि स्वास्थ्य समस्याका कारण देखाउँदै निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको निवेदन पेश गरेपछि त्यहाँपनि नयाँ निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जगेडा सूचीमा रहेका जिल्ला न्यायाधीशहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको उनले बिहीबार जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको बिहीबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

उनका अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङ, बागमतीमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेल र गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य नियुक्त भएका छन् ।

यस्तै लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्‍चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थी निर्वाचन अधिकृत तोकिएका छन् ।

यसअघि आयोगले कोशीमा दुर्गाप्रसाद ढुङ्‍गेल,मधेशमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की,गण्डकीमा केशवप्रसाद बास्तोला,लुम्बिनीमा कृपासुर कार्की,कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्‍चिममा ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot