Logo

प्रभु साहले उठाए प्रधानमन्त्री प्रचण्डको कार्यशैलीमाथि प्रश्न, एक वर्षमा केही गर्न नसकेको आरोप (भिडिओसहित)



काठमाडौं, १७ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले देशको नेतृत्वमा बसेकाहरुबाट देश नचल्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालबाट पनि देश चल्न नसक्ने ठोकुवा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा गरेको सम्बोधनमा नै एक वर्ष केही गर्न नसकेको भन्दै अब गर्छु भनेर प्रतिबद्धता गरेको स्मरण गराउँदै प्रचण्डबाट पनि देश चल्न नसक्ने ठोकुवा गरेका हुन् ।

उनले भने,‘सरकारको नेतृत्व गरेको एक वर्ष पुगेपछि प्रधानमन्त्रीले अब गर्छु भन्नुभएको छ, कसैले ०८४ देखाईरहेको छ । अहिले के गर्ने त ? अब जितेर ०८४ मा गर्ने अरे ? एक वर्ष के गर्यौ भनेर जवाफ दिनुहोस ।’ रास्वपाले मिसन ०८४ भन्नु पनि जनतालाई ठग्ने काममात्रै भएको साहको टिप्पणी छ । उनले संसद्मा संख्याले केही पनि नहुने भन्ने कुरा ३२ सिटको दलबाट अहिले मुलुकको नेतृत्व भैरहेकोले ०८४ मा पनि यस्तै रह्यो भने के हुन्छ ? भन्दै प्रश्न गरे ।

मधेश प्रदेश सरकारले बजेट लुट्ने काम गरेको भन्दै साहले आक्रोश पोखे । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम लिएर उनका आसेपासेहरुले बजेट लुट्ने काम गरेको आरोप लगाए । उपेन्द्र यादव र उनका आसेपासेहरुले संघीयतालाई फेल गरेको र मधेशलाई बद्नाम गरिदिएको पनि साहको आरोप छ । उनले मधेश सरकारको कुकर्मले सिंगो मधेश र यो धर्ती बद्नाम भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्