Logo

फागुन ७ गते नेपालीलाई रैतीबाट जनता बनाएको ऐतिहासिक दिन होः मीन विश्वकर्मा



काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आजको दिन नेपालीलाई रैतीबाट जनता बनाएको दिन भएको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले सात सालको क्रान्तिलाई प्रजातन्त्र दिवसको रुपमा देशभर मनाउन थालिएको बताएका हुन् ।

‘नेपाली कांग्रेसले यो देशको सामाजिक र राजनीतिक परिवर्तनका लागि गरेको पटक–पटकका आन्दोलनमध्य सात सालको क्रान्ति भन्छौं हामी । सात सालको क्रान्ति नेपाली राजनीतिको पहिलो संगठित र सशक्त क्रान्ति थियो । जसले १०४ वर्षको निरङ्कुशता समाप्त भएर नेपाली जनतालाई रैतीबाट जनता बनाएको दिन भएकाले यो दिनलाई हामीले मात्रै होईन, देशले नै प्रजातन्त्र दिवसको रुपमा मनाउँदै आएको थियो,’– उनले भने ।

कांग्रेस महासमिति बैठक पटक–पटक सर्दै जाँदा माघ मसान्ततिर गर्ने भन्ने सल्लाह भएपछि सात दिन पर्खिएर आजको दिन रोजेको उनले बताए । आज देखि सुरु भएको महासमिति बैठकमा पाँच वटा प्रस्ताव प्रस्तुत हुने बताए ।

नेता विश्वकर्माले महासमिति बैठकमा कांग्रेसले गरेको कामको आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीतिगत प्रस्तावमाथि छलफल हुने बताएका छन् ।

कांग्रेसले यसअघि अवसर पाउँदा ठीक गरेको दाबी गर्दै उनले अब अवसर पाउँदा के गर्छ ? जनताका तत्कालीन समस्याहरु के हुन् ? दीर्घकालीन समस्या के हुन् ? अब समस्या समाधान के हुनसक्छ ? कांग्रेसको दृष्टिकोण के हो ? भन्ने कुरा महासमिति बैठकमा छलफल हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot