Logo

अर्थविद्हरुले प्रस्तुत गरे आगामी आर्थिक वर्षको सांकेतिक बजेट



काठमाडौं, २१ फागुन । अर्थविदहरुले आगामी आर्थिक वर्ष २०८०÷०८१ को सांकेतिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अर्थविदहरुले सांकेतिक बजेट प्रस्तुत गरेका हुन् ।

अर्थविद् बोधनाथ न्यौपानेले सरकारले ल्याउने गरेको नीति तथा कार्यक्रम र बजेटमा जनताको मुद्दा प्राथमिकतामा नपरेका कारण सांकेतिक बजेट प्रस्तुत गरेको बताए । आफूले आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट कस्तो हुनुपर्छ भन्ने खाका आफूले तयार पारेको बताए ।

कार्यक्रममा अधिवक्ता स्वागत नेपालले आफू नेपालमा मृत्युदण्ड हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले राष्ट्रघाती निर्णय गर्ने र बालुवाटारको जमिन खानेलगायतका भ्रष्टाचारीलाई मुत्युदण्ड दिनुपर्ने बताए । देशको कूल बजेटको ९० प्रतिशत रमक १० प्रतिशत मानिसहरुले खाने गरेको उनको भनाइ छ ।

भ्रष्टाचारीहरुलाई मृत्युदण्डको सजाय दिँदा देशको अर्थतन्त्र सुध्रिने उनको दाबी छ । अबको बजेटमा केही रकम मृत्युदण्ड दिनका लागि गोली खरिद गर्न छुट्याउन पर्ने बताए ।

‘म मृत्यु दण्डको पक्षमा छु । अब हामीले केही रकम खर्च गर्नुपर्ने छ । मृत्युदण्डका लागि गोली खरिद गर्न,’– उनले भने ।
अदालतले बालुवाटारको जग्गा खाने तत्कालीन मन्त्रीलाई ‘तिम्रो कामै लुटेर खाने हो तिमीलाई कारबाही गर्न मिल्दैन’ भनेर फैसला दिएको उनले टिप्पणी गरे ।

मान्छेहरु आत्महत्या गरेर मर्नुपर्ने जर्जर आर्थिक स्थितिको कारण राजनीतिक तहबाट हुने नीतिगत भ्रष्टाचार नै रहेको उनको भनाइ छ । यो व्यवस्थाको विरुद्धमा र मृत्युदण्डको पक्षमा ठूलो जनमानस तयार भइरहेको उनको भनाइ छ । कार्यक्रममा सुवास ढकाल, हेमराज सेढाईँलगायतले आ–आफ्ना विचार राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्