Logo

बाबुरामद्वारा प्रचण्ड-ओलीको तुलना ‘घिउ बेचुवा र तरबार बेचुवा’ सँग



काठमाडौं, २२ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ गठबन्धनका शुत्रधारलाई लोक कथामा आधारित ‘घिउ बेचुवा र तरबार बेचुवा’ सँग तुलना गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले यस्तो ब्यङ्ग्य गरेका हुन् ।

घिउ बेचुवा र तरबार बेचुवा मितले एकअर्कासँग भएको नक्कली सामान साटासाट गरेको र दुई जना एकअर्कोलाई झुक्याउन सकेकोमा मख्ख गरेको उनले उल्लेख गरेका छन् । साथै, अन्तमा दुवैले सामान नक्कली रहेको र आफू गठिएको थाहा पाएपछि एकअर्कालाई सत्तोसराप गरेको प्रसंग उनले उल्लेख गरेका छन् ।

सत्ता समीकरणमा आएको फेरबदलतर्फ लक्षित गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

लोक कथा भन्छ– एकादेशमा घ्यू बेच्ने र तरबार बेच्नेहरूका गिरोह बनेछन् । घ्यू बेच्नेले काठको आकर्षक ठेकीभित्र तल गोबरले भरेर माथि घ्यूले छोपेछन् । तरबार बेच्नेले आकर्षक म्यानभित्र काठको भुत्ते तरबार राखेछन् । साटेर बेच्ने (बार्टर ट्रेड) जमाना थियो । मोलतोल गरे, कुरा मिल्यो । आ–आफ्नो पोल खुल्ला भनेर ठेकी र म्यान खोलेर भित्र हेर्न र देखाउन चाहेनन् । सामान साटेपछि दुवैले एकअर्कालाई ठग्न सफल भएकोमा मक्ख परे । एकअर्काको खुब प्रशंशा गरे । गला मिलाएर आ–आफ्नो बाटो लागे । निकै पर चौतारामा बसेर आ–आफ्ना साटेका सामान जाँच्दा पो दुवै खङ्ग्रङ भए । “धोकेबाज” भन्दै दुवैले एकअर्कालाई सत्तोसराप गर्न थाले ।
(कतै सन्दर्भ मिल्न गएमा आकस्मिकता मात्र हुनेछ)



प्रतिक्रिया दिनुहोस्