Logo

संसद्मा कांग्रेसले सोध्यो: प्रधानमन्त्रीले लात्तीले हान्ने भन्नुभयो, कसलाई हान्ने ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लात्तीले हान्ने भन्दै दिएको अभिव्यक्तिमा गम्भीर प्रश्न उठेको छ । संघीय संसद्‌मा प्रधानमन्त्रीको मन्तव्य पछि बोलेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएका अभिव्यक्ति शोभनीय नभएको भन्दै संसद्‌मा जवाफ दिनुपर्ने बताए ।

“प्रधानमन्त्रीले लात्तीले हान्ने भन्नुभयो । कसलाई हान्ने, प्रधानमन्त्रीले सिकाउने यस्तै हो ? ,” लेखकले भने, “म बाचुन्जेल उथलपुथल हुन्छ भन्दै हुनुहुन्छ । तपाईं १० वर्ष बाच्नुहोस, मेरो उमेर पनि लागोस् तर, प्रधानमन्त्रीले सिकाउने कुरा यही हो त ?”

लेखकले गत वर्ष बनेको ७ दलीय गठबन्धन तोड्दा प्रचण्डले कांग्रेसको विश्वास र नागरिकको जनमतमाथि अममान भएको बताएका हुन् । गत सोमबार प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन तोड्दै नेकपा एमालेसहितको नयाँ ५ दलीय गठबन्धन बनाएका थिए । सोमबार बनेको नयाँ गठबन्धनलाई समेटेर प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

‘निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो’, उनले भने, ‘आफ्नो जिम्मेवारीबाट भाग्ने गठबन्धन भत्काउने जुन अविश्वसनीय काम गरियो । यसलाई कठोरतापूर्वक भन्नैपर्‍यो यो राजनीतिक बेइमानी हो ।’

व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot