Logo

लेखनलाई अझ सशक्त बनाउन एमाले उपाध्यक्ष शाक्यको आग्रह



काठमाडौँ, २५ फागुनः नेपाली साहित्यमा महिला लेखनले सामाजिक विसङ्गतिका विषयवस्तुलाई अझ सशक्तरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको छ ।

एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागले आज आयोजना गरेको ‘नेपाली साहित्यमा लेखनको वर्तमान अवस्थाः चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताले सामाजिक र पारिवारिक चुनौतीबीच महिला लेखकहरुले साहित्यका विविध विधामा आफ्नो उपस्थितिलाई अघि बढाएको जनाउँदै उनीहरुका लागि समाज र परिवारले उचित वातावरण दिनुपर्ने बताए ।

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधानले महिलाका हक अधिकारलाई स्थापित गर्ने सवालमा उल्लेखनीय स्थान दिए पनि व्यवहारतः त्यसको कार्यान्वयन गराउन लेखनीबाट पनि सहयोग हुनुपर्ने बताईन् । नेत्री शाक्यले महिलाहरु परिवर्तन र रुपान्तरणका बाहक भएकाले उनीहरु एक भएर हिम्मत र आँटका साथ अघि बढेमा सामाजिक अन्यायलाई परास्त गर्न सक्षम हुने बताइन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सह–प्राध्यापक डा रजनी ढकाल र उप(प्राध्यापक डा विन्दु शर्माले महिला लेखनले निकै उचाइ हासिल गरिसकेका दृष्टान्तहरु प्रस्तुत गर्दै महिला लेखनका माध्यमबाट परम्परागत र धार्मिक अन्धतामा आधारित मिथकहरुमा भएका असमानतालाई चिर्ने काम गरेको विवेचना गरे ।

कार्यपत्रहरुमाथि लेखक डा अर्चना थापा र उप–प्राध्यापक डा कुमारी लामाले टिप्पणी गरेकी थिईन् भने प्राध्यापक केशव सुवेदीले मातृशक्तिको महत्ता र सामथ्र्यबारे प्रकाश पार्दै बदलिँदो सामाजिक परिवेशमा महिलाहरुलाई लेखनमा स्वायत्तता सृजना हुँदै जानु सकारात्मक भएको बताए । सो विभागका प्रमुख रघुजी पन्तले महिला लेखनका सन्दर्भमा विस्तृत बहस र अध्ययनको वातावरण निर्माण गर्न निरन्तर छलफल गर्नुपर्ने बताए । उनले कार्यपत्र प्रस्तोताहरुले प्राध्यापकीय समालोचनाका शैलीबाट फरक भएर बहुआयामिक पक्षमा विचार र विषयवस्तु पस्कन आग्रह गरे । 



प्रतिक्रिया दिनुहोस्