Logo

गाउँपालिकाले सरुवा पठाएको विद्यालयले हाजिर गराएन, लोकबहादुरले साउनदेखि तलब पाएनन्



काठमाडौं, २७ फागुन । कालिकोटको नरहरि गाउँपालिका वडा नं. ९ का शिक्षक लोकबहादुर दर्जीले गत साउनदेखि आफ्नो तलब रोक्का गरिएको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई गत साउनदेखि पढाउन पनि नदिइएको र तलब पनि रोका राखिएको बताए ।

शिक्षक दर्जीका अनुसार उनलाई गाउँपालिका शिक्षा समितिले जनजागरण आधारभूत विद्यालयबाट जनप्रभात माध्यामिक विद्यालयमा सरुवा गरेको थियो । सरुवा भएका विद्यालयले आफूलाई हाजिर नगराएको र त्यसबारे शिक्षा समितिलाई जानकारी गराउँदा कुनै चासो नदेखाएको उनको भनाइ छ ।

आफू अपाङ्ग भएकाले घरपायक विद्यालयमा अध्यापन गराउन पाउनुपर्ने मागसहित उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा रिट दायर गरेको उनले बताए । उक्त रिटमा गाउँपालिका शिक्षा समितिको पक्षमा फैसला हुँदासमेत आफूलाई हाजिर नगराइएको उनको भनाइ छ ।

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहकका क्रममा आफूलाई तत्कालीन शाही नेपाली सेनाले तीन महिना सैनिक हिरासतमा राख्दा यातना दिएर अपाङ्ग बनाएको उनको भनाइ छ ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलासले फैसला गर्दासमेत आफूलाई हाजिर नगराइएको उनले बताए । सरुवा भएर गएको विद्यालयले हाजिर नगराएपछि आफूलाई पहिलेकै जनजागरण आधारभूत विद्यालयमा हाजिर गराएर पठन पाठनको व्यवस्था मिलाइनु पर्ने र साउनदेखि रोकिएको तलबसमेत पाउनुपर्ने उनको माग छ ।

उनी प्रावि तृतीय श्रेणी राहत शिक्षक हुन् । आफूले शिक्षण पेशा गरेको ३४ वर्ष भइसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्