Logo

‘प्रचण्डबाहेक अर्को विकल्प छैन, विश्वासको मत दिनुस्’



काठमाडौं, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज (मंगलबार) पार्टी संसदीय दलको बैठकमा ओलीले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा अल्पमतको अर्को सरकार बन्ने भन्दै आफ्ना सांसदहरुलाई सचेत गराए ।

‘भोलि विश्वासको मत लिँदा प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर हामीले भन्नुपर्ने छ । पहिले–पहिलेका कुराहरुमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ । उहिलेका कुरा । अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नुभयो । अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहल कदमी लिनुभयो,’– उनले भने ।

अध्यक्ष ओलीले पार्टीबाट सहभागी मन्त्री र सांसदहरुलाई सरकारको आलोचनामा र सरकारको विरोधमा नबोल्न निर्देशन दिए । ‘सरकारको आलोचनामा बोल्ने होईन । सरकारको आलोचनामा बोल्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । किनभने नबुझिकन कहिले–कहिले देख्दा एकचिज देखिन्छ तर अर्कै हुन्छ,’– उनले भने ।

कांग्रेससँगको गठबन्धनमा रहँदा पनि एक डेढ वर्षसम्म पद कुनै अप्ठ्यारोमा नरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले देश अप्ठ्यारोमा परेको अनुभूति गरेर फरक ढंगले कदम चालेको उनको बुझाइ छ । अहिलेको अवस्थामा प्रधानमन्त्रीले चालेको कदम सकारात्मक रहेकाले विश्वासको मत दिन उनले निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको प्रस्ताव असफल भयो भने संयुक्त सरकारको च्याप्टर क्लोज हुने र सबैभन्दा ठूलो दलको पार्टीको नेताको हिसाबले प्रधानमन्त्री नियुक्त हुने भन्दै उनले सचेत गराए । कुनै हालतमा पनि संविधानको धार ७६ (३) को सकार बन्ने वातावरण बन्न दिन नहुने उनको निर्देशन छ ।

कांग्रेस सरकारमात्रै देख्ने र अरु केही थाहा नपाउने पार्टी भएको उनको आरोप छ । दिल खोलेर विना हिचकिचावट, मनमा कहिँकतै रिस नराखी विश्वासको मत दिन उनले निर्देशन दिए । साथै, प्रमुख सचेतकलाई विश्वासको मत दिने प्रयोजनार्थ आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्न उनले निर्देशन दिए ।

अहिलेको अप्सन प्रचण्डलाई विश्वासको मत दिने र संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बन्ने रहेको उनले बताए । अल्पमतको सरकार बनेको खण्डमा देश झनै संकटतर्फ जाने भएकाले विश्वासको मत दिन उनले निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्