Logo

पशुपालक किसानलाई आत्मनिर्भर बनाउन पालिकाको अनुदान



पर्वत, २१ वैशाख । पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिकाले पशुपालक किसानलाई अनुदान दिने भएको छ ।

महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ३१ लाख ५० हजार अनुदान वितरण गरिने भएको छ ।

महाशिला गाउँपलिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु, भैँसीपालन गर्ने किसानलाई उक्त अनुदान दिनेछ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट एक सयजना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि २५ लाख प्रदान गरिने छ ।

अनुदान लिने किसानले कम्तीमा पाँचवटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान छ । अनुदान पालिकाका छवटै वडाका पशुपालन गर्ने निजी फार्म, कृषक समूह, सहकारी वा साझेदारी फार्मलाई पनि समेटिएको छ ।

त्यसैगरी भकारो सुधार कार्यक्रमका लागि तीन लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाभित्रका ५० जना किसानलाई भकारो सुधारका लागि अनुदान दिने उनले बताए ।कम्तीमा एउटा गाई, एक हल गोरु र एउटा भैँसी पालेका किसानलाइ सात हजारका दरले अनुदान दिइने छ ।

पालिकाको एउटा वडामा १५ रोपनी क्षेत्रफलमा घाँसको स्रोत केन्द्र बनाउनका एक लाख ५० हजार अनुदान दिइने छ । स्रोत केन्द्रबाट पालिकाका छवटै वडामा घाँसको बीउ र बिरुवा विस्तार गरिने छ ।

पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बीउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा एक लाख ५० हजार बीउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए ।

अनुदान लिनका लागि कृषक, सहकारी वा साझेदारी फार्मले पन्ध्र दिनभित्र संस्था वा फार्म दर्ताको प्रमाणपत्र, नागरिकता, निवेदन, जग्गाको जग्गाधनी पुर्जाजस्ता कागजात पालिकाको पशु सेवा शाखामा पेस गर्न अनुरोध गरिएको छ । पालिकाले केही वर्षअघिदेखि मासु र दूध उत्पादनमा पनि अनुदान दिँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot