Logo

नेपालमा लगानी बढाउन एडिबीलाई अर्थमन्त्री पुनको आग्रह



काठमाडौँ, २९ फागुन । एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।

विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडै सुरु हुने विश्वास पनि उनले व्यक्त गरे ।

जवाफमा अर्थमन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने विश्वास व्यक्त गरे । दूधकोशी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने पनि उनले प्रतिबद्धता जनाए । .

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्न गइरहेकोमा पनि अर्थमन्त्री पुनले खुसी व्यक्त गरे । “दूधकोशी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु”, अर्थमन्त्री पुनले भने ।

नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले त्यसमा सुधार गर्न क्षमता अभिवृद्धि र जनशक्ति विकासमा कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए । युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम ल्याउने तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने आशा पनि उनले व्यक्त गरे । अर्थमन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot