Logo

सिरुटार–बिरुवा सडक अनुगमन



भक्तपुर, २ चैत । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चारदोबाटो बिरुवा बसपार्क सडक निर्माणको अनुगमन गरिएको छ ।

बागमती प्रदेश सरकारका भौतिक तथा योजनामन्त्री युवराज दुलालसहितको टोलीले आज अनुगमन एवं निरीक्षण गरेको हो । अनुगमन मन्त्री दुलाल, सङ्घीय सरकारका पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका सल्लाहकार डिबी ढकाल, प्रदेशसभा सदस्यद्वय किरण थापा, सकुन्तला श्रेष्ठ र वडाअध्यक्ष सानुकाजी कायस्थसहितको टोलीले गरेका हुन् ।

बागमती प्रदेश सरकारबाट विनियोजित रु १५ करोडको लागतमा ढल, फुटपाथ निर्माण, सडक विस्तार, स्तरोन्नति र कालोपत्र भइरहेको छ ।

मध्यपुरथिमि नगरपालिका‐३ कौशलटारदेखि सूर्यविनायक नगरपालिका‐२ बालकोट र वडा नं १ सिरुटार–बिरुवा सडकखण्ड निर्माण, सडक विस्तार, स्तरोन्नतिका लागि गत वर्ष बहुवर्षे ठेक्का लागेको थियो । निर्माणको अन्तिम चरणमा रहेको उक्त सडकको अनुगमन गरेको बागमती प्रदेशसभा सदस्य किरण थापाले जानकारी दिए ।

अनुगमनमा मन्त्री दुलालले सडक निर्माण गुणस्तरीय र सम्झौता समयभित्रै सम्पन्न गर्न निर्देशन दिए । उनले गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै तीव्रगतिमा काम गर्न निर्देशन दिए ।

पूर्वमन्त्री बस्नेतले भक्तपुर विकासको उत्कर्षमा पुगेको र सिरुटार बिरुवा सडकले अब पूर्णता पाउने बताए । उनले समयमै गुणस्तरीय सडक निर्माण गर्ने कम्पनीले थप अवसर पाउने भएकाले काम छिटो र गुणस्तरीय गर्नुपर्ने बताए ।

गत वर्ष बालकोट र सिरुटारको सिमानामा रहेको पुलबाट ढल र फुटपाथसहितको सडक निर्माण सुरु भएको थियो । पहिलो चरणमा सिरुटारदेखि चारदोबाटोसम्म कालोपत्र सम्पन्न भइसकेको छ । यस वर्ष चारदोबाटोबाट बिरुवा बसपार्कसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको प्रदेशसभा सदस्य थापाले बताए । रासस



प्रतिक्रिया दिनुहोस्