Logo

दैलेख खण्डको १२२ किमी सडक जेठभित्र सम्पन्न हुने



दैलेख, ११ चैत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २२ किलोमिटरको उक्त खण्ड जेठभित्र सम्पन्न गर्नेगरि कामलाई तीव्रता दिइएको हो ।

सडक पूरै कालोपत्र भइसकेपछि स्थानीय उत्पादनले सहजै बजार पाउनेछन् भने स्थानीयस्तरमा रोजगारीका अवसरहरु सिर्जना हुनेमा स्थानीयले आशा गरेका छन् । यस खण्डलाई दैलेखको भाग्य र भविष्य परिवर्तन गर्ने महत्वपूर्ण आयोजनाका रूपमा लिइएको छ ।

पुष्पलालमध्य पहाडी राजमार्गअन्तर्गत पर्ने दैलेख खण्डको एक सय २५ किमीमध्ये एक सय २२ किमी खण्ड कालोपत्र आगामी जेठभित्र सम्पन्न गर्नेगरि काम भइरहेको मध्यपहाडी सडक आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिए । उनका अनुसार बाँकी तीन किमी खण्डको विषयलाई लिएर सर्वोच्चमा मुद्दा परेकाले काम रोकिने भएको हो ।

निर्माणका क्रममा देखिएका कतिपय कमजोर संरचना पुनः निर्माण गर्नुपर्ने भएकाले आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनीलाई बारम्बार ताकेतासँगै निर्देशन दिँदै आएको न्यौपानेले बताए । गतवर्ष करिब ९० किमी खण्ड कालोपत्र सम्पन्न भएको थियो ।

चालु आवको जेठसम्म दैलेख खण्डमा पर्ने अधिकांश सडक कालोपत्र सक्ने गरी कामलाई तीव्र दिइएको आयोजना प्रमुख न्यौपानेले जानकारी दिए । “सडक सञ्चालनमा कुनै अवरोध नभए पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्”, उनले भने, “जसले गर्दा यात्रुहरुले महँगोमा भाडा तिरेर यात्रा गर्नुपरेको गुनासो समेत गरिरहेकाले शिघ्र सञ्चालनका लागि काम भइरहेको छ ।”

दैलेख सदरमुकामको पूर्वी खण्डअन्तर्गत जाजरकोटको सुयाडा र पश्चिम खण्डअन्तर्गत अछामसम्म सहज सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीयवासीले दबाब दिँदै आएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय दैलेखले सवारी साधनलाई रुट प्रमिट दिने विषय कर्णाली प्रदेश सरकारको भएकाले प्रदेश सरकारलाई पत्र लेखी पठइएको जनाएको छ ।

सडक सञ्चालन भएसँगै किसानको उत्पादनले बजार पाउने र आर्थिक अवस्था सुधार हुने आशा गरिएको स्थानीय हरिस गिरीले बताए । सडक नियमित सञ्चालनका लागि प्रदेश सरकारले तत्काल रुट प्रमिट दिनुपर्नेमा उनले जोड दिए ।

मध्यपहाडी सडक खण्डको काममा गुणस्तरीयता कायम नभएको, काममा ढिलाइ भएको भन्दै नागरिकले आवाज उठाएपछि जिप्रकाले कामको गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको छ । साथै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आफैँले उक्त खण्डको स्थलगत अवलोकन गरेका छन्

पश्चिम क्षेत्रमा स्थलगत अनुगमनमा पुगेका प्रजिअ भुसालले जेठभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको भन्दै सोही अनुसार कामलाई तिव्रता दिइएको बताए । उनका अनुसार आयोजना कार्यालयले बारम्बार अनुगमनका लागि दुई जना इञ्जिनियरसमेत खटाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्