Logo

समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा



गोदावरी (कैलाली), १३ चैत । सुदूरपश्चिम प्रदेशका कैलाली–कञ्चनपुर तथा अन्य तीन जिल्ला गरी पाँच जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालन भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका, लम्कीचुहा, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका, कञ्चनपुरको कृष्णपुर, पुनरवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा डिपट्युबेलबाट पानी निकालेर उक्त कार्यक्रम सञ्चालन गरिएको महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सालिक भुसालले बताए ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशका बाँके र बर्दियामा डिपट्युबेलमार्फत सिँचाइ उपलब्ध पुर्याउने उद्देश्यले समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

कैलाली–कञ्चनपुरलगायत अन्य तीन जिल्ला गरी पाँच जिल्लामा डिपट्युबेलमार्फत चालु आर्थिक वर्ष २०८०/८१ मा ४० हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइने लक्ष्य रहेको उनले जानकारी दिए । ती पाँच जिल्लामा डिपट्युबेलमार्फत भूमिगत सिँचाइ उपलब्धताका लागि चालु आव २०८०/८१ मा सात करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

पाँच जिल्लामा सञ्चालित सो कार्यक्रमका लागि विनियोजन गरिएको बजेट पर्याप्त नभएको उनले बताए । “कार्यक्रमअनुसार बजेटको आकार पनि ठूलो हुनुपर्ने हो तर छैन”, इन्जिनियर भुसालले भने । यी जिल्लामा किसानलाई आवश्यकताका आधारमा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गराउने गरी कार्यालयले स्थान छनोट गरेर ‘डिपट्युबेल’ निर्माणको काम तीव्र रूपमा अघि बढाएको जनाइएको छ ।

एउटा डिपट्युबेल जडानका लागि झण्डै ८५ लाख बढी खर्च लाग्ने गरेको जनाइएको छ । भूमिगत जलस्रोतबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिपट्युबेलका लागि किसानबाट निवेदन माग गरिनेछ । किसानले निवेदन पेस गरेपछि प्रतिहेक्टर पाँच सयका दरले अधिकतम २० हजार रकम उठाई कार्यालयको धरौटी खातामा जम्मा गरिनेछ । रासस



प्रतिक्रिया दिनुहोस्