भरतपुर, १३ चैत । चितवनको भरतपुर महानगरपालिका–५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती सबैको आकर्षणको केन्द्र बनेको छ ।
यहाँ फर्ममै स्ट्रबेरी टिपेर खान र फोटो खिच्न आउनेको दैनिकजसो घुइँचो लाग्ने गरेको छ । नेपाल एग्रोभाइन प्रालिमार्फत सात युवाले यहाँ व्यावसायिक स्ट्रबेरीखेती गरेका छन् । अनुसन्धानसँगै व्यावसायिक रुपमा गरिएको स्ट्रबेरीखेतीमा सबैको आकर्षण बढेपछि यहाँ काम गरिरहेका युवा उत्साहित छन् ।
चार वर्षदेखि गरिएको स्ट्रबेरीखेतीले यस वर्ष सबैभन्दा बढी प्रतिफल दिएको छ । फर्म सञ्चालकमध्येका एक शशन देवकोटाका अनुसार इजिप्टबाट ल्याइएका बिरुवाले यस वर्ष दुई किलोसम्म फल दिएका छन् । फर्ममै टिपेर खान आउनेहरु बढेका छन्भने नेपालका विभिन्न सहरबाट यहाँको स्ट्रबेरीको माग हुने गरेको उनले बताए ।
फर्ममा छ प्रकारका स्ट्रबेरी रोपिएको छ । यहाँ अमेरिकन प्रकारका स्ट्रबेरी इजिप्टबाट ल्याएर रोपिएको हो । “फर्ममा आउनेहरुले आफैँ टिपेर जोखेर लैजान पाउँछन्”, उनले भने, “स्ट्रबेरीको जुससमेत खान पाइन्छ ।” सात सय किलोमा बिक्री हुने गरेको स्ट्रबेरी फागु पर्वको अवसर पारेर छ सयमा बिक्री गरिएको उनले बताए । उनका अनुसार फर्ममा अहिलेसम्म ७० लाख लगानी भइसकेको छ । स्ट्रबेरीले राम्रो फल दिएपछि यस वर्ष एक विघामा स्ट्रबेरीको व्यावसायिक खेती विस्तार गरिएको छ । “तराईमा स्ट्रबेरीखेती सम्भव हुँदैन भन्ने सोच परिवर्तन गर्न हामीले चितवनमा स्ट्रेबेरी खेती सुरु गरेका हौँ”, उनले भने, “राम्रो फलेको छ, हाम्रो टोली सन्तुष्ट छ ।” उनले उत्पादन राम्रो भएका कारण क्षेत्र बढाएर स्ट्रबेरीखेती गरिरहेको बताए ।
शशनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गरेका छन् । विगतका केही वर्ष स्ट्रबेरीमा अनुसन्धान गरेका उनको अग्रसरतामा नै यहाँ व्यावसायिक खेती गरिएको हो । उनको टोलीमा रहेका सबै युवाले कृषि नै पढेका हुन् । पढेका व्यक्तिले व्यावसायिकरुपमा कृषि गर्दा निकै राम्रो आम्दानी हुने उनको भनाइ छ । अब पढेका व्यक्तिले कृषि नगर्ने हो कृषि उत्पादन बढाउन नसकिने उनले बताए ।
फर्ममा घुम्न आएका उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले व्यावसायिक रुपमा काम गर्न सके कृषि क्षेत्रबाट पनि सफलता मिल्न सक्छ भन्ने उदाहरण स्ट्रबेरी फर्मले प्रस्तुत गरेको बताए । उनले फर्ममा आएर स्ट्रबेरी टिप्दा र खाँदा आफूलाई पनि आनन्द आएको जनाउँदै राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।
सामाजिक सञ्जालका कारण प्रख्यात बनेको यो फर्ममा स्ट्रबेरी टिप्न जानेको प्रत्येक वर्ष भीड नै लाग्ने गरेको छ । सामाजिक सञ्जालमार्फत भिडिओ हेरेर फर्म घुम्न आएको भरतपुर–१२ का शिव पौडेलले बताए । उनले प्रत्येक वर्ष उक्त फर्ममा स्ट्रबेरी खान आएको जनाउँदै यस वर्ष परिवारसहित आएको बताए । रासस