Logo

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र मुख्यमन्त्री सही हो भन्ने पुष्टि हुँदैछः मुख्यमन्त्री शर्मा (भिडिओसहित)



काठमाडौं, १६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र मुख्यमन्त्री नै सही हो भन्ने कुरा व्यवहारतः पुष्टि हुँदै गएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र प्रदेशका मुख्यमन्त्री भएको खण्डमा मात्रै सरकारको स्थायित्व हुने बताएका हुन् । अहिले प्रदेश सरकारको औचित्यतामाथि भन्दा पनि निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेको उनको भनाइ छ ।

‘प्रदेश सरकारको औचित्यता भन्दा पनि हाम्रो निर्वाचन प्रणालीमा प्रश्न उठेको मैले अनुभूत गरिराखेको छु । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र प्रदेशको मुख्यमन्त्री पनि जनताबाट प्रत्यक्ष निर्वाचित हुने कु्रा नै सही रहेछ भन्ने कुरा आज व्यवहारतः पुष्टि हुँदै गएको देखिन्छ,’– उनले भने ।

समानुपातिक निर्वाचन प्रणाली नभएसम्म सरकारको स्थायित्वमाथि प्रश्न उठिरहने उनको भनाइ छ । उनले संविधानलाई संशोधन, सुदृढ, व्यवस्थित र जनताको आवश्यकतामा परिमार्जन गर्दै जानु आवश्यक रहेको बताए । कर्णालीमा अहिले प्रदेश सरकार परिवर्तन गरिरहनु जरुरी नरहेको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेताका रुपमा समेत चिनिएका मुख्यमन्त्री शर्माले २०७९ को आम निर्वाचनपछि प्रदेश सभामा तीन पटक विश्वासको मत लिइसकेका छन् । जनताबाट प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख हुने व्यवस्था नभएसम्म अस्थिरता भइरहने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्