Logo

निर्माण व्यवसायीको बक्यौता छिट्टै भुक्तानी हुने प्रधानमन्त्रीको आश्वासन



काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण ब्यवसायीहरुको बक्यौता छिट्टै भुक्तानी हुने बताएका छन् । आज (शुक्रबार) नेपाल निर्माण व्यवसायी महासंघको १५औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले सरकारले व्यवसायीले गरेको कामको भुक्तानी दिन आनाकानी गर्नु बेइमानी हुने बताए । अघिल्लो गठबन्धनमा रहँदा आफूले चाहेर पनि भु्क्तानी गर्ने वातावरण बनाउन नसकेको उनको भनाइ छ । कांग्रेससँगको समीकरणमा रहँदा प्रधानमन्त्री एकतिर कुद्न चाहने र अर्थ मन्त्रालय अर्कोतिर कुद्ने हुँदा निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुन नसकेको बताए । अब नयाँ अर्थमन्त्री आएसँगै बक्यौता भुक्तानीको वातावरण बन्दै गएको उनको भनाइ छ ।

‘मैले लामो समयदेखि निर्माण व्यवसायीले गरेको कामहरुको निम्ति भुक्तानी दिन सरकारले आनाकानी गर्नु भन्दा ठूलो बेइमानी केही हुनै सक्दैन भनेर भनेको थिएँ । अघिल्लो सरकारमा हुँदा मिलेको थिएन । प्रधानमन्त्री एकतिर कुद्न चाहने, अर्थ मन्त्रालय अर्कोतिर कुद्न चाहने हुँदा निकै जटिल भएको थियो । तैपनि मैले निकै बल गरेर निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न, भुक्तानीको स्थितिलाई समाधान गर्न बल गर्दै थिएँ ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले नयाँ अर्थमन्त्री आईसकेपछि यो प्रक्रिया अगाडि बढिसकेको छ । म तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु अब निर्माण व्यवसायीको बक्यौता रहन दिइने छैन । तपाईँहरुको निम्ति अनुकूल वातावरण बनाइने छ ।’



प्रतिक्रिया दिनुहोस्