Logo

मुलुकको शान्ति, सहमति र समृद्धिलगायतका मुद्दालाई सार्थक तुल्याउन क्लबले खेलेको भूमिका सराहनीय छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रिपोर्टर्स क्लब नेपालले आफूलाई आम नागरिकका पीरमर्का, माग, तर्क, विचार र सिर्जना प्रस्तुत गर्ने थलोको रुपमा उभ्याएको बताएका छन् । क्लबको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) एक शुभकामना जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ-“रिपोर्टर्स क्लब नेपालले २६औं वार्षिकोत्सव मनाउन लागेको जानकारी पाउँदा खुशी लागेको छ । यस अवसरमा क्लब परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

सन्देशमा थप भनिएको छ-“लोकतन्त्रको आधारभूत अवयवका रुपमा रहेको प्रेस स्वतन्त्रता जनताको सूचना माग्ने र पाउने अधिकारसँग सम्बन्धित मौलिक हक हो । संविधान तथा कानून प्रदत्त सूचना सञ्चार र अभिव्यक्ति स्वतन्त्रताको हक सुनिश्चित् गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ । यस सन्दर्भमा, संविधानले परिकल्पना गरेको पूर्ण प्रेस स्वतन्त्रता, कानूनी राज्य र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध राष्ट निर्माण गर्न रिपोर्टर्स क्लबजस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण रहन्छ । क्लबले आफूलाई आम नागरिकका पीरमर्का, माग, तर्क, विचार र सिर्जना प्रस्तुत गर्ने थलोको रुपमा उभ्याएको छ । जसले लोककल्याणकारी राज्य स्थापनामा टेवा पुर्याएको छ । विभिन्न राजनीतिक घट्नाक्रमको साक्षी बन्दै मुलुकको शान्ति, सहमति, परिवर्तन, सुशासन र समृद्धिका मुद्दालाई सार्थक तुल्याउन क्लबले आफ्नो क्षेत्रबाट खेलेको भूमिका सराहनीय छ । लोकतन्त्र, नागरिक अधिकार र राष्टियताको समसामयिक विषयवस्तु र जनआवाजलाई बुलन्द गर्दै सरकारसमक्ष पुर्याउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणमा आगामी दिनमा क्लबले अझै सिर्जनात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

प्रधानमन्त्री दाहालले क्लबको यस २६औं वार्षिकोत्सवको अवसरमा मुलुकका समसामयिक सवाल र चूनौति सामनाको सन्दर्भमा सबै शासकीय साझेदारहरु मिलेर अगाडि बढ्न आह्वान गर्दै रिपोर्टर्स क्लब र सम्पूर्ण टिमलाई पूनः शुभकामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot