Logo

नाउपा वर्तमान सरकारले चलाएको छः रेशम चौधरी



काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूले भनेको केही कुरा नमानेको गुनासो पोखेका छन् । आज (सोमबार) आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले आफूले गरेको हरेक प्रस्तावमा रञ्जिताले इन्टरफियर गरेको उनको भनाइ छ । उनले घरकै मान्छेले हस्तक्षेप गर्दा झनबढी पीडा भएको बताए । ‘पीडा छ । घरकै मान्छेले नमान्दिएपछि झनबढी पीडा हुन्छ । लोग्ने स्वास्नी मिलेका छौं भन्छन् । म अनुरोध गर्छु, उहाँबाट स्वीकार हुन्न । बेवकुफ म बन्छु । के गर्ने बेबकुफ बनिरहने मेरो भाग्यमा लेखेको छ,’– उनले भने ।

आफूले पार्टी मिल्छ कि भनेर चुपचाप सहेर बसेको उनको भनाइ छ । अब यसरी बस्न उपयुक्त नहुने आफूलाई लागेको उनले सुनाए । आगामी चैत २३ र २४ गते केन्द्रीय समिति बैठक बस्ने बताए । उक्त बैठकले गलत गर्ने सबैलाई छानीछानी कारबाही गरेर पार्टी सुद्धीकरण गरिने उनले बताए । ‘पार्टी मिल्ला भनेर नै म चुपचाप बस्ने हो । यसरी बस्न हुँदैन । अराजक गतिविधि गर्ने कसैलाई छुट छैन । भएन भने कारबाही गर्ने,’– उनले भने ।

संरक्षक चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताए । उनले आफूले पार्टीको किचलोले तन महिनादेखि खानासमेत नराखएको बताए । केन्द्रीय समितिले गरेको निर्णयसमेत पार्टीका केही मानिसहरुले नमान्दा अहिलेको परिस्थिति सिर्जना भएको उनको बुझाइ छ ।

‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपेँ । मलाईँ थाहा छ, यो विरुवा कुन जातको हो । आँपको हो कि, स्याउको हो कि ओखरको हो कि । तीन महिनादेखि मैले खाना खाएको छैन । आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौं भन्छन् । अर्काको सञ्चालनमा हामी नचलौं, हाम्रो निर्णय गरौं भन्दा किन नमान्ने त ?’– उनले भने ।

नाउपा वर्तमान सरकारले चलाएको उनको टिप्पणी छ । उनले अर्काको निर्णमा आफूहरु नचल्ने बताए । पार्टीमा पदीय लोलुपता धेरै भएको उनको बुझाइ छ । ‘पार्टीमा बाहिरबाट हस्तक्षेप भएर त यस्तो भएको छ । अहिलेको वर्तमान सरकारले चलाइरहेको छ र त यस्तो भइरहेको छ नि, जगजाहेर कुरा छ । पार्टी नागरिक उन्मुक्ति पार्टी हो । अर्काको निर्णयमा हामी किन चल्ने ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot