Logo

एमाले ओखलढुंगाका निवर्तमान अध्यक्षद्धारा पार्टी परित्यागको घोषणा



काठमाडौं,२९ चैत । नेकपा एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन् । एमालेको हालै सम्पन्न जिल्ला अधिवेशनमा आफ्नो प्यानलका अध्यक्षका प्रत्यासी हर्कवोल राई पराजित भएपछि उनले पार्टीनै परित्याग गरेको घोषणा गरेका हुन् ।

‘दसौं जिल्ला अधिवेशनमा जे–जस्ता रवैया र गतिविधिहरू देखिए। जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मेरो ३४ वर्षको राजनीति जीवनमा यस्तो विधि र पद्धतिविहीनता अनुभूति गरेको थिइनँ। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनीतिकर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनीति न्याय स्थापित नै गर्न सकिन्छ। यही कुरालाई महसुस गरी मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज खगेन्द्र राईमार्फत् चैत २७ गते नै पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु,’ उनले भनेका छन्।

एमालेको हालै सम्पन्न जिल्ला अधिवेशनबाट कटवाल इतरका ज्ञानबहादुर खड्का विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका थिए। खड्काले १४४ र राईले १३१ मत ल्याए। अध्यक्षका अर्का उम्मेदवार तारा कार्कीलाई ३ मत प्राप्त भएको थियो।

कटवाल ०७८ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्ष चुनिएका थिए । ०७८ पुसमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट कटवाल निर्वाचित भएका थिए । सीताराम गुरुङलाई पराजित गर्दै कटवाल निर्वाचित भएका थिए । कटवालले ४ सय मत ल्याउँदा गुरुङले २ सय ७६ मत ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot