Logo

पार्टी विभाजनमा अशोक राईलाई भण्डारीलालको साथ, सम्हाले लुम्बिनीमा कृषि मन्त्रीको जिम्मेवारी



काठमाडौं,२४ वैशाख । पूर्व सहमति अनुसार २ मन्त्रालय नदिईएको भन्दै वैशाख ८ गते लुम्बिनी सरकारबाट बाहिरिएका भण्डारीलाल अहिरले आज पुन: मन्त्री पद सम्हालेका छन् ।

आइतबारमात्र उनको पार्टी जसपा नेपाल फुटेको थियो । जसपा नेपाल फुटाएर वरिष्ठ नेता अशोक राईले जसपा गठन गरेपछि राईको पक्षमा उभिएका अहिरले आज पुन मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

लुम्बिनीमा जसपाका ३ सांसद छन् । पार्टी विभाजनपछि अशोक राइको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुनेगरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका हुन् । अशोक राईको निर्देशनमा अहिरले मन्त्रालयको जिम्मेवारी सम्हालेको स्रोतले जनाएको छ । सहमति कार्यान्वयन नभएको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

वैशाख ८ गते राजीनामा दिएपनि उनको राजीनामा स्वीकृत भएको थिएन । ३ सांसद रहेको जसपा लुम्बिनीमा तीनै जना नयाँ पार्टीमा खुलेको स्रोतको दाबी छ । आइतबार जसपा नेपाल फुटाएर राईसहितका ७ जना सांसदले नयाँ पार्टी गठन गरेका थिए ।

लुम्बिनी प्रदेशमा नयाँ समीकरणकाे आधारमा सरकार बनाउँदा जसपालाई दुईवटा मन्त्रालय दिने लिखित सहमति थियाे। तर, साे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीकाे निर्देशनमा अहिरले वैशाख ८ गते राजीनामा दिएका थिए।

प्रदेशमा पूर्वमन्त्री इस्तियाक राईको प्रभाव छ । उनी पार्टी विभाजनपछि जनता समाजवादी पार्टीका महासचिव बनेका छन् । तीन सांसद बाँकेका हुन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot