Logo

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेले टुंग्यायो ४ मन्त्री



काठमाडौं,६ वैशाख । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले आजै सबै दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

यसअघि मुख्यमन्त्रीको शपथ लिएको दिन तिनजनालाई मात्र मन्त्री नियुक्त गरेका महराले आज अरु मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् ।

यसैबीच सत्ता साझेदार सबैभन्दा ठूला दल नेकपा एमालेले भने आफ्नो तर्फबाट सरकारमा सहभागी हुने ४ जना मन्त्रीको नाम टुंग्याएको छ । एमालेले अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

एमाले स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन् ।

२३ चैत मा मुख्यमन्त्री नियुक्त भएको दिन महराले एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मन्त्री नियुक्त गरेका थिए । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आज महराले एमालेबाहेक माओवादीबाट बाँकेकी कृष्णा केसी, एकस्कृत समाजवादीकी भगवती अधिकारी र जसपाका एक जनालाई मन्त्री नियुक्त गर्नेछन् । उनीहरुको शपथ आजै साँझ ५ बजेका लागि तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्