Logo

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो ।

सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् ।

भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार देखी २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्यूआरकोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ ।

यसमा ई.एम.आइ को सुविधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशत देखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ ।

भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

स्मार्ट बचत खातामा अकर्षक सुविधा थपदेखि ६ प्रिभिलेज काउन्टरको सुरुवात

यहि वैशाख ७ गते (शुक्रबार) १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको बैंकले वार्षिकोत्सवको अवसर पारेर आफ्ना ग्राहकका लागि विभिन्न योजना तथा कार्यक्रमहरू पनि ल्याएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा वैशाख १ देखि ३१ गतेसम्म एक महिनाका लागि लागू हुने गरी विभिन्न सेवा-सुविधामा भारी छुट तथा क्यासब्याक लगायतका योजना जारी राखेको छ ।

सार्वजनिक योजनाअन्तर्गत डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाइनमार्फत एक हजार रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्दा १७ प्रतिशत वा एक सय ७० रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यसैगरी, सिटिजन्स स्मार्टमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले पनि पाँच सय वा सोभन्दा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा एक सय ७० क्यासब्याक प्रदान गरिदैँ आएको बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराईरहेको छ । त्यसैगरी, बैंकले यस योजना अवधिभर ग्राहकका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा पनि दिइरहेको छ  । साथै, बैंकका निष्क्रिय मोबाइल बैंकिङ ग्राहकलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १ सय ५० रुपैयाँ छुट प्रदान गरिरहेको बैकले जानकारी गराएको छ ।

बैंकले वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइरहेकालाई करिब १७०० जनालाई चैत २० देखि २०८१ वैशाख ६ सम्म भोजनको व्यवस्था गरेको थियो ।

भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई भोजन वितरण गरिएको हो । बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा बिहीबार कोशी प्रदेशको धरान शाखाबाट निःशूल्क स्वास्थ्य शिविर संचालन गरि करीब १५० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरू समेत निःशूल्क वितरण गरेको छ ।

चुक्ता पुँजी १४ खर्ब २० करोड रुपैयाँ रहेको बैंकले १ खर्ब ५६ अर्ब कर्जा लगानी गरेको छ भने १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । हाल बैंकले १९० शाखा, १५३ एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाईमार्फत ६० जिल्लाका १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot