Logo

दोस्रो पटक इलाम जाँदै ओली, सुहाङको जित निश्चित गरेरमात्रै काठमाडौं फर्किने



काठमाडौं,१२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदैछन् । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङलाई भोट माग्न ओली इलाम जान लागेका हुन् ।

एमालेले आज इलामको चुलाचुलीमा वृहत्त आनसभाको आयोजना गर्दैछ । इलाम २ को सबैभन्दा धेरै मतदाता भएको क्षेत्र चुलाचुली हो । यसअघि ओलीले गत साता इलाम २ कै अर्को ठाउँ मंगलबारे पुगेर सुहाङको पक्षमा भोट मागेका थिए । चुलाचुलीमा दिउँसो १ बजे हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् ।

चुलाचुली सबैभन्दा धेरै मतदाता भएको क्षेत्रमात्र नभएर अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ सँग पनि जोडिएको ठाउँ हो ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेसहित, माओवादी केन्द्र, केकपा (वप्लप) र नेपाल परिवार दलका साझा उम्मेदवारको रुपमा सुहाङ मैदानमा छन् । गत वर्षको मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेबाटै सुहाङका बावु सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत वर्ष भदौंमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

एमाले अध्यक्ष ओली आज इलाममै बस्नेछन् । उनले इलाममा आज विभिन्न नेता कार्यकर्तासँग छलफल र भेटघाट गर्नेछन् । उनी इलाम २ बाट सुहाङको जित निश्नचित गरेरमात्रै काठमाडौं फर्किने एमाले स्रोतले जनाएको छ ।

अध्यक्ष ओली सभा सकेर भोलि झापा जाने कार्यक्रम छ । दमकमा भेटघाट कार्यक्रम राखिएको छ । उनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ ।

इलाम २ को निर्वाचनमा सुहाङसँगै नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट पत्रकार मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिम उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot