Logo

‘रापतापका साथ छिर्‍यो इलाम, फर्किँदा घण्टी लिलाम’



काठमाडौं,१८ वैशाख । ०७९ सालको मंसिरमा सम्पन्न प्रतिनिध सभा निर्वाचनको मुखैमा पत्रकारिता पेशा त्यागेर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक पछि अर्को सफलता प्राप्त गर्दै गए ।

पार्टी स्थापनाको ६ महिना नहुँदै संसद्मा चौथो दलको रुपमा पार्टीलाई उभ्याए । रास्वपा संसदमा चौथो दलको रुपमा मात्र उभिएन् अस्थिर सत्ता समीकरणको खेलमा पार्टीलाई निर्णायक शक्तिको रुपमा उभ्याउन सफल भए । सत्ता र शक्तिको खेलमा माहिर सावित भएका लामिछाने सांसद चुनिएको महिना दिनमै उपप्रधान तथा गृहमन्त्रीको कुर्सीमा पुगे ।

पत्रकारबाट छलाङ मार्दै उपप्रधानमन्त्रीको कुर्सीमा आसिन लामिछाने धेरै दिन मन्त्रीको कर्सीमा भने रहन पाएनन् । नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खोस्दियो । सर्वोच्चको आदेशपछि सांसद र मन्त्रीबाट पदच्यूत भए । केही दिनमै फेरि नागरिकता लिएर चुनावमा जुटे । ०८० वैशाख १० मा उपनिर्वाचन भयो । चितवन २, तनहुँ १ र बारा २ मा एकैपटक उपनिर्वाचन भयो । तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रहरु रिक्त थिए ।

तीन क्षेत्रमाा उपनिर्वाचन हुँदा चितवन २ र तनहुँ १ रास्वपाले जित्यो । उम्मेदवारी दर्ताको केही दिनअघि मात्र कांग्रेस त्यागेका स्वर्णिम वाग्लेलाई तनहुँमा रास्वपाले उम्मेदवार बनाएको थियो । चितवन र तनहुँमा शानदार मतले चुनाव जितेको रास्वपाले बारामा भने जमानत जोगाउन सकेनन् । यद्यपि तनहुँमा जित निकाल्नु नै रास्वपाको लागि ठूलो प्रतिष्ठा बनेको थियो ।

चितवन र तनहुँको जनमतले हौसिएका रास्वपाका नेताहरुलाई हालै भएको इलाम २ को उपनिर्वाचनले भने सवक सिकाईदिएको छ । पूराना सबै दल गलत हुन् । उनीहरुले अब विकास गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गरेर उपनिर्वाचनमा होमिएको रास्वपाले इलाम २ मा जमानतसमेत जोगाउन सकेन ।

मिसन ८४ को परीक्षणको रुपमा रास्वपाले इलामको चुनावलाई लिएको थियो । रास्वपाले इलाममा उम्मेदवार दर्ताको ५ दिनअघिमात्र माओवादी त्यागेका पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको थियो । तर लिब्मूले ५०५० मतमात्र ल्याएपछि उनको जमानत जफत भएको हो । इलाम २ को उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत जफत भएको हो ।

त्यसोत लिम्बू इलाम २ मा स्वतन्त्र रुपमा उम्मेदवार दिन चाहन्थे । पहिचानको सवालमा उग्र नेताको छवि बनाएका उनले सुरुमा पहिचानवादीहरुको साझा उम्मेदवार बन्ने प्रयास गरेका थिए । तर, उनको विवादास्पद अभिव्यक्ति र ढुलमुले प्रवृत्तिप्रति हेक्का राखेका पहिचान पक्षधरले साझा उम्मेदवार बनाउन मानेनन् । सुरुमा स्वतन्त्र उमेदवारी दिने बताएर उनी प्रचारमा जुटिसकेका थिए । तर, पछि रास्वपाबाट उमेदवार बने । उपनिर्वाचनबाट सांसदको सपना देखेर रास्वपाबाट चुनाव लडेका उनी यसपटक नराम्ररी पछारिएका छन् । उनीसँगै रास्वपाको सिंगो टिमले हारेको टिप्पणी भईरहेको छ ।

उपनिर्वाचनका लागि रास्वपाले उमेदवार छान्न र पूर्वमा संगठन विस्तार गर्न राम्रै संघर्ष गर्‍यो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सुरुदेखि नै इलाममै बसे । उमेदवार छान्न नेताहरू ४२ वडामै पुगे । सांसदहरु मनिष झा, सोविता गौतम, निशा डाँगीसहिका नेताहरू उमेदवार खोज्न गाउँ पसे । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल, संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियारसहितले निरन्तर इलामलाई केन्द्रमा राखेर काम गरे । चुनावमा पनि गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने र शिक्षामन्त्री सुमन श्रेष्ठले घरघर पुगेर मत मागे ।

समग्रमा इलाममा रास्वपा आक्रामकरूपमा प्रस्तुत भएको थियो । तर, पनि रास्वपाको नतिजा निकै कमजोर देखियो । यतिसम्म कि लिम्बूले आफ्नै वडाबाट १०० मत पनि पाउन सकेनन् ।

सात वडा रहेको फाकफोकथुम गाउँपालिकाबाट रास्वपाले ६४५ मत मात्र पायो । वडा नम्बर १ बाट ११५, वडा नम्बर २ बाट ९६, वडा नम्बर ३ बाट ९७, वडा नम्बर ४ बाट ७१, वडा नम्बर ५ बाट ५५, वडा नम्बर ६ बाट १२७ र वडा नम्बर ७ बाट लिम्बूले ८४ मात्र पाए ।

माङसेबुङ गाउँपालिकाबाट उनले २४३ मत मात्र पाए । जबकि यो उनको बसोबास र मतदान गर्ने गाउँपालिका हो ।

मिलनको यो हार रास्वपा, रवि लामिछाने र वैकल्पिक राजनीति गर्नेको हार भएको टिका टिप्पणी सामाजिक सञ्जालमा भईहरँदा यसले रास्वपालाई पाठपनि सिकाएको छ । संगठननै नभएको ठाउँमा भाषणले मात्र चुनाव जितिँदैन भन्ने कुरा पनि यो चुनावले रास्वपालाई देखाएको छ । सामाजिक सञ्जालमा प्रचार गर्ने र आक्रामक भाषण गर्नेकामले मात्र चुनाव जितिँदैन् भन्ने पाठ सिकाएको उपनिर्वाचनले रापतापका साथ छिर्यो इलाम फर्किदा घण्टी लिलाम भन्ने भनाईलाई बल पुर्याईदिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot