Logo

इलाममा जमानत जफत भएपछि बोल्यो रास्वपा, सुहाङलाई बधाई दिँदै के भने ढकालले ?



काठमाडौं,१८ वैशाख । इलाम २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धारणा सार्वजनिक गरेको छ । मंगलबार बिहान सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ भारी मतले निर्वाचित हुँदा रास्वपाका उम्मेदवार पराजित भएका थिए ।

इलाम २ मा रास्वपाले उम्मेदवार बनाएका मिलन लिम्बूले ५०५० मत ल्याएका छन् । उनले ल्याएको मत कुल सदर मतको ७ प्रतिशत हाराहारी हो । आफ्नो पार्टीको जमानत नै जफत भएपछि रास्वपाले यसबारेमा पार्टी बैठकमा गहन छलफल गर्ने जनाएको छ ।

मंगलबार पार्टी महामन्त्री डा मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको बैठकले छलफल गर्ने बताएका छन् ।
‘उपनिर्वाचनमा विजयी हुनुभएका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई हार्दिक बधाई तथा जनअपेक्षा अनुरुप कार्यसम्पादन गर्न सक्षम हुनुहोस् भनी सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं’ ढकालले भनेका छन् ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ’ ।

रास्वपाले आफ्ना उम्मेदवारलाई दिएको मतप्रति सबै इलामेलीलाई धन्यवादसमेत दिएको छ । जनताले दिएको मतको सदैव सम्मान गर्ने रास्वपाले उल्लेख गरेको छ । ‘हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नं। २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं । नतिजा हाम्रो अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं । साथै निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot