Logo

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ



काठमाडौं,९ जेठ । आफूले रोजेको मन्त्रालय नपाएपछि मन्त्रीको शपथ नै बहिष्कार गरेका नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।

प्रदेशमा कँडेल र शाहबिच गुटको राजनीति छ । शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल गर्न काठमाडौँ गएका थिए । तर, पार्टी केन्द्रले कुनै निर्देशन नदिएपछि मुख्यमन्त्री कँडेलले शाहको नाम मन्त्रीको लिस्टबाट हटाएर उक्त मन्त्रालय आफैसँग राखेका थिए ।

शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयमा चित्त बुझाएका छन् । उनले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिएका छन् ।

गत वर्ष प्रदेशसभा निर्वाचनपछि बनेको राजकुमार शर्मा नेतृत्वको एमाले(माओवादी गठबन्धन सरकारमा शाह आर्थिक मामिला तथा योजनामन्त्री थिए । पछि माओवादी( कांग्रेस गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्