Logo

सिरोहिया पक्राउ प्रकरण : बढ्ता हो–हल्ला भएको प्रचण्डको प्रतिक्रिया, ओली चुपचाप



काठमाडौं, ९ जेठ । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया पक्राउ परेपछि देशको मिडियादेखि सामाजिक सञ्जाल तातिएको छ । कान्तिपुर र सिरोहियाले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणको विषयमा समाचार लेखेकै कारण प्रतिशोध साँधेर पक्राउ गरेको दाबी गरेका छन् । सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना चुहिनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु कान्तिपुर मुख्यालय पुगेका थिए । त्यसअघि संसद्मै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सिरोहियालाई पक्राउ गरिए सह्य नहुने चेतावनी दिएका थिए ।

कान्तिपुर मुख्यालयमा कांग्रेस सांसदहरुको उपस्थितिसँगै उनीहरुले सिरोहियालाई पक्राउ गरिए प्रेस स्वतन्त्रताको हनन हुने टिप्पणी गरेका थिए । पक्राउ पुर्जी जारी भएपछि कतिपय मिडियामा प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री लामिछानेलाई अहिले पक्राउ नगर्नु भनेर निर्देशन दिएको समाचार र उक्त समाचारमा प्रधानमन्त्री दाहालकै प्रेस सल्लाहकार गोविन्द आचार्यको भनाई समावेश गरेका समाचार पनि आएका थिए ।

तर, कतिपयले भने प्रधानमन्त्री दाहालको निर्देशनमा नै गृहमन्त्री लामिछानेले सिरोहियालाई पक्राउ गर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएको पनि दाबी गरेका छन् । कान्तिपुर दैनिकले सिरोहिया पक्राउ परेको भोलिपल्ट अर्थात् आज (बुधबार) ‘लामिछानेले सहकारी ठगीको समाचार दबाउन र दाहालले सत्ता बचाउन कान्तिपुरमा गरे हस्तक्षेप’ शीर्षकको समाचार प्रकाशित गरेको छ ।

सिरोहिया पक्राउ परेपछि गृहमन्त्री लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा बाहिर ल्याएको छ । उसले सरकारको पछिल्लो कदमको स्वागत गरेको छ । रास्वपाले प्रेस स्वतन्त्रता हनन भएको भनेर आएको समाचार र धारणालाई ध्यान दिएर ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजिवी पत्रकार एकै होईनन्’ भनेको छ ।

कान्तिपुरले प्रधानमन्त्री दाहालमाथि सरकार बचाउन कान्तिपुरमा हस्तक्षेप गरेको भनेर गम्भीर आरोप लगाएपछि आजै प्रधानमन्त्री दाहालको पनि संक्षिप्त प्रतिक्रिया आएको छ । जहाँ दाहालले ‘बढ्ता हो–हल्ला’ भएको र अदालतबाट प्रक्रियाबाट निर्दोष भए सजिलै छुट्ने भनेका छन् । दाहालले कान्तिपुरले हो हल्ला गरेको भनेर गृहमन्त्री लामिछानेको कदमलाई साथ दिएको प्रष्ट संकेत गरेका छन् ।

प्रधानमन्त्री दाहालाई कान्तिपुर टिभीका पत्रकारले नै सिरोहिया पक्राउबारे सोधेका थिए । जसमा दाहालले भनेका थिए,‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले’, उनले अघि भनेका थिए,‘बढ्ता हो–हल्ला गर्न जरूरी छैन।’ पत्रकारले गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रूपमै आउनुभयो भन्ने आरोप छ नि! भन्ने प्रश्न राख्दा जवाफमा दहालले ‘त्यो मान्छेहरूले भन्ने कुरा भएको’ भनेर गृहमन्त्री लामिछानेकै बचाउ गरे । उनले सरकारले सिरोहियासँग रिसिईबी साँधेको हो ? भनेर कान्तिपुरकर्मीले राखेको अर्को प्रश्नमा उनले उक्त आरोपलाई ठाडै अस्विकार गरे । निकै आक्रोशित मुद्रामा देखिएका दाहालले सोधे–‘यो गलत हो, उहाँसँग के को रिसिईबी ?’

यता, धनुषा जिल्ला अदालतले भने सिरोहियालाई आजै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । कान्तिपुरको मुख्यालबाट पक्राउ परेका सिरोहियालाई हिजै स्थलमार्ग हुँदै धनुषाको जनकपुर लगिएको थियो । आजै प्रहरीले म्याद थपको लागि अदालत लगेपछि अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

सिरोहिया पक्राउ प्रकरणमा नेपाली कांग्रेसका नेताहरु खुलेर बोलेका छन् । एमालेका प्रदीप ज्ञवाली, योगेश भट्टराई र विमला पौड्याल राई अनि विष्णु रिजाल बोलेका छन् । अरु शीर्ष नेताहरुले सिरोहिया प्रक्राउ प्रकरणमा बोलेका छैनन् । एमाले अध्यक्ष यतिवेला झापामा छन् । उनी आजै काठमाडौं आउने बुझिएको छ । उनले पनि सिरोहिया पक्राउ प्रकरणमा अहिलेसम्म मुख खोलेका छैनन् ।

सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रबाट राम कार्कीबाहेक कसैले पनि सिरोहिया पक्राउबारे बोलेका छैनन् । एमाले र माओवादी दुवै दलका शीर्ष नेताहरु मौन बस्नुले कतै सिरोहिया पक्राउ गर्न दुवै दलको समर्थन वा योजना त थिएन ? भनेर प्रश्न उब्जिएको छ । आजै साँझ प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच बालुवाटारमा भेटवार्ता हुने बताईएको छ । जेठ ११ गते मन्त्रिपरिषद् पूनगर्ठनको विषयमा तीन नेता एक ठाउँमा भेला हुन लागेका छन् । उक्त बैठकमा सिरोहिया पक्राउ प्रकरणमा सरकारको एउटा पोजिसन बनाउने र त्यहीअनुसार अघि बढ्ने उनीहरुको रणनीति छ ।

Related News



प्रतिक्रिया दिनुहोस्

Screenshot