Logo

विपक्षी दलहरुको विरोधकाबीच आज नीति तथा कार्यक्रम पारित गर्ने तयारी



काठमाडौं, जेठ ११ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ । जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ । तर संसदमा कांग्रेस लगायतका विपक्षी दलहरुको विरोध जारी रहेकाले नीति तथा कार्यक्रम सहज रुपमा पारित हुन्छ वा विरोधकाबीच बहुमतले पारित हुन्छ भन्ने विषय चासोका रुपमा हेरिएको छ।

संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ।

सचिवालयका अनुसार नीति तथा कार्यक्रमका विषयमा प्रतिनिधि सभामा दुई वटा संशोधनको सूचना दर्ता भएको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन्।

नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने सांसदहरूलाई बैठक बस्नुभन्दा एक घण्टा अगावै नाम टिपाउन संसद सचिवालयले भनेको छ। त्यसक्रममा हुने छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन्। प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुने छ।

सहकारी ठगीका विषयमा संसदीय छानबिनको माग गर्दै लामो समयदेखि संसद अवरोध गर्दै आइरहेको कांग्रेसले आज पनि समिति गठका विषयमा सहमति नभएमा विरोध गर्ने बताएको छ। कांग्रेससहित विपक्षी दलको विरोध कायमै रहँदा सत्ता पक्षले विरोधकै बीच नीति तथा कार्यक्रम पारित गर्ने सम्भावना रहेको सत्ता पक्षका नेताहरु बताउँछन्।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ ।

साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ुलगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यसूचीमा समेटिएको छ ।
आजै राष्ट्रिय सभाको समेत बैठक आह्वान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot