Logo

प्रकाश स्नेहीको आक्रामक अभिव्यक्तिः कांग्रेससँग निहुँ खोज्ने रवि लामिछानेलाई किमा बनाएर छाड्छौं (भिडिओसहित)



काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका नेता प्रकाश रसाईली ‘स्नेही’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कांग्रेससँग निहुँ नखोज्न चेतावनी दिएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता रसाईलीले कांग्रेसमाथि लामिछानेले गम्भीर आरोप लगाएको भन्दै निहुँ नखोज्न भनेको हुन् । संसद्मा लामिछानेले कांग्रेस महामन्त्री गगन थापामाथि राज्यका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । हिजोका राजा महाराजाहरुले समेत लगाउन नसकेको आरोप लामिछानेले लगाएको भन्दै उनले संसदीय समिति बनेपछि लामिछानेलाई किमा नै बनाएर छाड्ने चेतावनी दिए । लामिछानेको हरेक चुनौति स्वीकार गर्न कांग्रेस तयार रहेको पनि उनको जवाफ छ ।

‘पहिला यो सहकारी ठगी प्रकरणमा संसदीय समिति बनोस् । संसदीय छानविन समिति बनिसकेपछि कांग्रेसका गगन थापा होईन, कुनै पनि नेतालाई, हिजो बीपी कोइरालालाई नलगाएको आरोप, गणेशमानजी, किसुन्जी र गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालालाई राजा ज्ञानेन्द्रदेखि महेन्द्र, त्रिभुवनले कांग्रेसलाई नलगाएको आरोप रवि लामिछानेले लगाएको छ ।’ उनले भने, ‘कांग्रेससँग रवि लामिछानेजस्ता भंगेराहरुले निहुँ खोज्नु राम्रो हुँदैन । यसको मूल्य रवि लामिछानेले चुकाउनुपर्छ । कांग्रेसले रवि लामिछानेलाई किमा बनाएर छोड्छ । रवि लामिछानेको छातीमा रौं छ भनेर तागत छ भने कांग्रेसका नेताहरुलाई थुने हुन्छ । जसलाई छानविन गरेपनि कांग्रेस छाती खोलेर चूनौति स्वीकार गर्न तयार छ ।’

साथै, उनले नेपालका तीन करोड जनतामा कोही अपराधी रहेको खण्डमा पहिलो नम्बरको अपराधी उपप्रधान एवं गृहमन्त्री लामिछाने रहेको आरोप लगाए । नेता रसाईलीले आफ्नै सहकर्मीलाई मर्न बाध्य पारेको, आफ्नै चालकलाई मर्न बाध्य पारेको, अमेरिकमा आर्थिक अपचलन गरेको र नेपालमा आएर सहकारी ठगी गरेको आरोप लगाए । उनले रवि लामिछानेले सोझो जीवी राईलाई सरकार परिवर्तन गर्न सक्ने हैसियत बनाइदिन्छु भनेर फसाएको बताए ।

‘तीन करोड जनतामध्ये एक नम्बरबाट कोही अपराधी छ भने त्यो रवि लामिछाने हो । आफ्नै सहकर्मीलाई आत्महत्या गर्न बाध्य बनाउने को ? रवि लामिछाने । आफ्नै चालकलाई मर्न बाध्य बनाउने को ? रवि लामिछाने ।’ उनले भने, ‘लाखौं सहकारी पीडितहरु सडकमा मकै पोल्ने, जुत्ता सिलाउने, गिटी बालुवा बोक्ने मान्छेहरुले सहकारीमा राखेको पैसा ल्याएर तपाईँले सरकार परिवर्तन गर्नसक्ने हैसियत राख्नुहुन्छ भनेर जीवी राईजस्तो मान्छेलाई फसाएर गोरखा मिडियामा ल्याएर अर्बौंको अपचलन गर्ने मान्छे को ? रवि लामिछाने होईन ? अमेरिकी नागरिक हुँदै नेपालमा आएर ठग्न सुरु गरेका थिए । अहिले अपराधका श्रृङ्खला हेर्ने हो भने रवि लामिछानेजति अपराध कसले गरेको छ र ?’

साथै, उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नाथुराम गोड्सेको संज्ञा दिँदै कांग्रेस महामन्त्री थापासँग तुलना हुन नसक्ने बताए । नेपालको व्यवस्था परिवर्तका निम्ति काठमाडौंमा मात्रै नभएर देशभरका महत्वपूर्ण चोक–चोकमा कांग्रेस महामन्त्री थापाको रगत र पसिना बगेको उनले बताए । सो समयमा लामिछानेले अमेरिकामा आर्थिक अपचलनको मुद्दा खेपिरहेको उनको भनाइ छ । लामिछानेले जीवनका ५० वर्षसम्म श्रीमतीको विकल्प खोज्दै हिँडेको उनको आरोप छ ।

नेता रसाईलीले भने, ‘कांग्रेसका नेताहरुलाई थुन्न रवि लामिछानेको छातीमा रौं छ ? गगन थापा र रवि लामिछानेको कुनै तुलना हुन्छ ? नाथुराम गोड्से र महात्मा गान्धिको तुलना हुन्छ ? गगन थापाका अगाडि रवि लामिछाने नाथुराम गोड्से हो । गगन थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा काठमाडौंका चोक होईन, नेपालका महत्वपूर्ण चोकहरुमा गगन थापाको रगत र पसिना नबगेको कुन चोक होला ? त्यतिखेर रवि लामिछाने अमेरिकामा आर्थिक अपचलनको मुद्दा खेपिरहनु भएको थियो । श्रीमतीको विकल्प खोज्दै हिँड्नु भएको थियो । ५० वर्षसम्म श्रीमतीको विकल्प खोज्दै हिँड्ने रवि लामिछाने र गगन थापाको कुनै तुलना हुन्छ ? त्यो भेडाले गर्ने तर्क हो, गोरुले भन्ने कुरा हो ।’

रवि लामिछानेले आफूले चितवनका जनतालाई भेडा बनाउन सकेकोमा गौरव गरिराखेको उनको टिप्पणी छ । लामिछानेको राजनीति धेरै दिन नटिक्ने उनको दाबी छ । उपप्रधान एवं गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको बुई चढेर आफ्ना प्रमाणहरु लुकाएको र माओवादी नेता कृष्णबहादुर महरालाई सुन काण्डमा .चोख्याएको उनको आरोप छ । नेता रसाईलीले उपप्रधान एवं गृहमन्त्री लामिछानेले समाचार लेखेकै कारण कैलाश सिरोहियासँग बदला लिएको बताए । सिरोहिया पक्राउ पर्नुमा एमाले अध्यक्ष ओलीको पनि हात रहेको उनको भनाइ छ । गिरीबन्धु टि स्टेट प्रकरणको समाचारलाई लिएर ओलीले पनि सिरोहियासँग प्रतिशोध साँधेको नेता रसाईलीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot